बढ्दो हिंसाजन्य घटनाका विरुद्ध धनकुटाका किशोरकिशोरीले अब आ–आफ्ना विद्यालयमा अगुवाइ गर्ने भएका छन् । उनीहरू धनकुटा नगरपालिकाबाट लैंगिक हिंसाबारे सचेतना तथा सामाजिक र वित्तीय सीप हस्तान्तरणका लागि प्रशिक्षक तालिम लिएपछि अभियानमा जुट्न लागेका हुन् ।
What you should know
धनकुटा — सबैले ‘लैंगिक हिंसा अपराध हो, यसका विरुद्ध बोलौं’ यही नारा लेखिएको टि–सर्ट लगाएका थिए । विद्यालय तहमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक अभियानमा जुट्ने तयारीमा रहेका धनकुटा नगरपालिकाभित्रका २३ किशोरकिशोरी यसरी एकजुट भएका हुन् ।
बढ्दो हिंसाजन्य घटनाका विरुद्ध धनकुटाका किशोरकिशोरीले अब आ–आफ्ना विद्यालयमा अगुवाइ गर्ने भएका छन् । उनीहरू धनकुटा नगरपालिकाबाट लैंगिक हिंसाबारे सचेतना तथा सामाजिक र वित्तीय सीप हस्तान्तरणका लागि प्रशिक्षक तालिम लिएपछि अभियानमा जुट्न लागेका हुन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यान्वयन र विश्व बैंकको आर्थिक अनुदान सहयोगमा तालिम सञ्चालन गरिएको थियो । धनकुटा नगरपालिकाले नगरभित्रका २३ किशोर तथा किशोरीलाई सहभागी गराएर सामाजिक र वित्तीय सीप रुपान्तरण सम्बन्धित आठदिवसीय प्रशिक्षक प्रशिक्षण तालिम दिएको हो । लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाअन्तर्गत तालिम सञ्चालन गरिएको परियोजनाका व्यवस्थापक खिन्द्र अधिकारीले बताए ।
यसरी तालिम लिएका किशोरकिशोरी अब विद्यालयमा फर्किएर आफ्ना सहपाठीलाई लैंगिक हिंसासम्बन्धी तालिम दिने परियोजना कार्यान्वयन इकाइका विज्ञ नुषराज श्रेष्ठले बताए । ‘घरेलु तथा महिला लगायत सबै प्रकारका लैङ्गिक हिंसा न्यूनीकरणका लागि किशोरकिशोरीलाई प्रशिक्षक प्रशिक्षण तालिम दिइएको हो,’ उनले भने, ‘नवयुवाहरूमा सचेत गराउन किशोरकिशोरी जुट्ने छन् । यसपछि पुनः अर्को चरणको तालिम दिएपछि उनै किशोरकिशोरी आफ्ना समुदायमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक अभियानमा जुट्ने छन् ।’
धनकुटा नगरपालिकाभित्रका नौ सरकारी विद्यालयका किशोरकिशोरी तालिममा सहभागी थिए । तालिममा सहभागी निकिता विश्वकर्माले लैंगिक हिंसाबारेमा स्पष्ट भएकाले अब आफू र आफ्ना साथीसंगीलाई यसबारे तालिम दिने बताइन् । अर्की सहभागी प्रशन्ना अधिकारीले भनिन्, ‘अधिकांशले लैंगिक हिंसाबारे जानकारी नपाएकै कारण समस्या भोग्नुपरेकाले यसको न्युनीकरणमा हामी जुट्ने छौं ।’
तालिमका प्रशिक्षक संयोग ठकुरीले १७ वटा क्रियाकलापमा तालिम दिइएको बताए । त्यसलाई किशोरकिशोरीले विद्यालय तहमा प्रशिक्षण दिने उनले जानकारी दिए । उनका अनुसार आगामी वर्ष पुनः १० वटा क्रियाकलापबारे प्रशिक्षण दिएपछि लैंगिक हिंसाबारे समुदायस्तरमा किशोरकिशोरीले आगामी वैशाख दोस्रो सातादेखि अभियान थाल्ने छन् । लैंगिक हिंसाविरुद्ध सचेतनामूलक अभियानमा जुट्न लागेका किशोरकिशोरीलाई धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, उपप्रुमख भीमादेवी खनाल अधिकारी, प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक उपशाखाकी प्रमुख फूलमाया तामाङले शुभकामना दिएका थिए ।
