धनकुटामा मासिँदै झिङ्गटी घर, संरक्षणको चिन्तामा पुरानो पुस्ता

कुनै समय बीचबजार र तल्लो कोप्चे क्षेत्रमा झिङ्गटी घरहरूको बाक्लो बस्ती थियो। स्थानीय व्यापारी र नेवारी समुदायले बनाएका यी घर बजारको पहिचान बनेका थिए। तर अहिले ती घर औँलामा गन्न सकिने छन्।

चैत्र ९, २०८२

विनोद घिमिरे

Dhankuta's shingati houses are disappearing, older generation concerned about conservation

What you should know

धनकुटा — मर्मत गर्ने कालीगढको अभाव, नयाँ पुस्ताको बदलिँदो रुचि र जस्तापाता र कंक्रिटका आधुनिक घरहरूको विस्तारसँगै धनकुटाका सयौँ वर्ष पुराना झिङ्गटी घरहरू क्रमश: हराउँदै गएका छन् । कुनै समय पूर्वी पहाडी जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित धनकुटा बजार अहिले आफ्नो मौलिक वास्तुकलाको पहिचान गुमाउने अवस्थामा पुगेको छ।

धनकुटाको तल्लो कोप्चे एक समय व्यापारिक गतिविधिको केन्द्र थियो। पूर्वाञ्चलको सदरमुकाम हुँदा यो कोशी पहाडी जिल्लाकै मुख्य व्यापारिक केन्द्र थियो। राणा, राजा, पञ्चायत र बहुदलीय व्यवस्थामा समेत धनकुटा पूर्वको प्रशासनिक केन्द्र थियो।

यहाँ स्थानीय व्यापारीहरूले नेवारी शैलीमा निर्माण गरेका झिङ्गटी छाना भएका घरहरूको बाक्लो बस्ती थियो। घर मात्र होइन, विश्रामस्थल र पार्टी-पौवासमेत ढुङ्गा–माटोको गाह्रो र झिङ्गटीकै छानाले ढाकिएका थिए। तर समयसँगै ती संरचना एकपछि अर्को गर्दै नासिँदै गएका छन्।

तल्लो कोप्चेका चर्चित कपडा व्यापारी बुद्धिमान प्रधानले १९७० सालमा बनाएको झिङ्गटी घर अझै जस्ताको तस्तै रहेको छ। उनका नाति विकास प्रधानले २०५९ सालमा उक्त घर मर्मत गरे पनि अब फेरि मर्मत गर्नुपरे कालीगढ नपाइने चिन्ता छ। 'बुढापाका सकिए, नयाँ पुस्तामा यो सीप छैन,' उनी भन्छन्, 'झिङ्गटी लगाउन चाहेर पनि मान्छे पाइँदैन। झिङ्गटी नै कहाँ बन्छ भन्ने पनि थाहा छैन। अब छानो चुहियो भने टिनकै छाना लगाउनुपर्ने हुन्छ ।'Dhankuta's shingati houses are disappearing, older generation concerned about conservation

तल्लो कोप्चेमा यस्तै झिङ्गटी छाना भएका धेरै ऐतिहासिक घरहरू थिए। टुँडिखेलबाट छिर्ने बित्तिकै देखिने एउटा पुरानो घर अहिले जीर्ण अवस्थामा छ। मर्मत सम्भार अभाव र दक्ष कालीगढ नहुँदा धेरै घरहरूमा झिङ्गटी हटाएर जस्तापाता लगाइएको छ। स्थानीय उज्वल कर्मचारीले पाँच वर्षअघि आफ्नो घरको झिङ्गटी हटाएर जस्ताको छाना लगाउनु परेको बताउँछन्। 'मिस्त्री नै नपाएपछि बाध्य भएर जस्ता हाल्नुपर्‍यो,' उनी भन्छन्, 'तर कालीगढ भेटिए फेरि झिङ्गटीकै छाना लगाउने रहर मरेको छैन।' उनले गाउँमा भत्काइएका घरका झिङ्गटी आफूले संकलन गरिरहेको पनि बताए ।

सिरानबजारका विजयशेखर श्रेष्ठको घर पनि कुनै समय झिङ्गटी छानाले ढाकिएको थियो। उनका जिजुबाजेले १९०३ सालमा बनाएको करिब १९० वर्ष पुरानो घरमा छाना चुहिन थालेपछि र मर्मत गर्ने जनशक्ति नपाएपछि झिङ्गटी हटाएर टिन लगाउनु परेको उनले बताए। 'रहरले होइन, बाध्यताले झिङ्गटी हटाउनु पर्‍यो,' श्रेष्ठले भने, 'आफूलाई बनाउन नआउने, मान्छे नपाउने- के गर्ने?'

यद्यपि झिङ्गटी घरको युग समाप्त हुँदै गएको देखिए पनि पछिल्लो समय नमुना रूपमा यस्ता घरहरूको खोजी सुरु भएको छ। पुरातत्त्वविद् र संरक्षणकर्मीहरूले समेत चासो देखाउन थालेका छन्। धनकुटा नगर पञ्चायतका पूर्वप्रमुख राजेन्द्रबहादुर प्रधानका अनुसार जीवन्त हाडीगाउँ संस्थाले धनकुटामा झिङ्गटी घरको खोजी गरिरहेको छ। 'नेवारी संस्कार–संस्कृति बुझ्ने र झिङ्गटी घरमा बस्ने चाहना राख्नेहरू बढ्दै छन्,' उनले भने, 'हामी नमुना रूपमा यस्ता घर जोगाउने प्रयासमा छौँ।'

कुनै समय बीचबजार र तल्लो कोप्चे क्षेत्रमा झिङ्गटी घरहरूको बाक्लो बस्ती थियो। स्थानीय व्यापारी र नेवारी समुदायले बनाएका यी घर बजारको पहिचान बनेका थिए। तर अहिले ती घर औँलामा गन्न सकिने छन्। धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तेलिया, ताङ्खुवा, मुगा र फलाटे लगायतका गाउँमा समेत पहिले प्रशस्त झिङ्गटी घर थिए। हुनेखाने वर्गले यस्ता घर बनाउने चलन थियो। तत्कालीन अवस्थामा स्थानीय शासनका विभिन्न तहमा रहेका सुब्बा, थरी, डीटठा,  र जिम्मावालगायत व्यक्तिहरूले पनि झिङ्गटी घर निर्माण गरेका थिए। तर संरक्षण अभावमा ती सबै लगभग लोप भइसकेका छन्।

इतिहासकारहरूका अनुसार झिङ्गटी छाना बनाउने परम्परा करिब एक हजार वर्षअघि लिच्छविकालदेखि सुरु भएको मानिन्छ। स्थानीय माटो, काठ र ढुङ्गाबाट निर्माण हुने यी घरहरूले घाम, पानी, चिसो र हावाबाट राम्रो सुरक्षा दिन्थे। साथै, नेवारी वास्तुकलाको अनुपम सौन्दर्य झल्काउने यस्ता संरचनाहरू सांस्कृतिक पहिचानका धरोहर पनि हुन्। तर संरक्षणमा चासो नदिइँदा पुराना सम्पदा हराउँदै गएकोप्रति स्थानीय बुढापाकाको गुनासो छ। बीचबजारका सुभाष चन्द्र जोशी भन्छन्, 'न नयाँ पुस्ताले जोगाउन खोज्यो, न सरकारले नै। सकिएपछि फेरि बनाउन निकै गाह्रो हुन्छ। हामी सानो हुँदा सबैजसो घर झिङ्गटीका थिए, त्यो सौन्दर्य नै बेग्लै थियो।'

झिङ्गटी घरहरू केवल आवासीय संरचना मात्र होइनन्; यी स्थानीय इतिहास, संस्कृति र पहिचानका जीवित दस्तावेज हुन्। यस्ता घर मासिँदै जाँदा धनकुटाले आफ्नो मौलिकता गुमाउँदै गएको छ। दीर्घकालीन रूपमा यसको प्रभाव बहुआयामिक देखिन्छ। राजेन्द्रबहादुर प्रधान भन्छन्, 'सांस्कृतिक पहिचानमा गम्भीर क्षति पुग्छ। झिङ्गटी घरसँग जोडिएको नेवारी वास्तुकला, जीवनशैली र सामाजिक संरचना क्रमशः हराउँछ।' 

पर्यटन सम्भावनामा कमी आउँछ। मौलिक संरचना नै पर्यटनको मुख्य आकर्षण हुने भएकाले यस्ता घर नहुँदा धनकुटाको ऐतिहासिक आकर्षण घट्न सक्छ।  यसका साथै परम्परागत सीपको लोप हुन्छ। कालीगढ, मिस्त्री र झिङ्गटी बनाउने सीप पुस्तान्तरण नहुँदा पूर्ण रूपमा हराउने जोखिम बढेको उनको बुझाइ छ । 

संरक्षणका लागि पहल आवश्यक  झिङ्गटी घर संरक्षणका लागि राज्य, स्थानीय तह र समुदायको संयुक्त पहल आवश्यक छ। कालीगढ उत्पादन तथा तालिम, झिङ्गटी निर्माण प्रविधिको पुनर्जीवन, पुराना घर मर्मतमा अनुदान र सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण जस्ता कार्यक्रम तत्काल आवश्यक ठान्छन् । 

यदि यस्ता ठोस पहल अघि नबढाइए धनकुटाको इतिहास बोकेका झिङ्गटी घरहरू केही वर्षमै पूर्ण रूपमा हराउने र केवल किताबका पानामा सीमित हुने चिन्ता छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully