प्रतिष्ठानले स्थापनाकालदेखि नै क्यान्सर उपचार सेवा दिँदै आएको र पूर्वी नेपालमै पहिलोपटक क्यान्सरसम्बन्धी शल्यक्रिया सुरु गरेको दाबी गरेको छ ।
What you should know
धरान — यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सर उपचारसम्बन्धी सामाजिक सञ्जालमा फैलाइएको भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै क्यान्सर उपचार हुँदैन वा सेवा गुणस्तरहीन छ भन्ने प्रचार पूर्ण रूपमा गलत र भ्रामक भएको स्पष्ट पारेको छ । यस्ता सूचनाले बिरामी र सर्वसाधारणमा अन्योल सिर्जना गर्नुका साथै स्वास्थ्य सेवाप्रति अविश्वास बढाउने खतरा रहेको उल्लेख गरिएको छ।
प्रतिष्ठानका अनुसार केही निहित स्वार्थ समूहले क्यान्सर विशेषज्ञ चिकित्सकमाथि आधारहीन आरोप लगाउँदै संस्थाको छविमा आँच पुर्याउने प्रयास गरिरहेको दाबी पनि गरेको छ। यस्ता गतिविधि रोक्न र यथार्थ जानकारी सार्वजनिक गर्न आफूहरू बाध्य भएको जनाइएको छ ।
प्रतिष्ठानले स्थापनाकालदेखि नै क्यान्सर उपचार सेवा दिँदै आएको र पूर्वी नेपालमै पहिलोपटक क्यान्सरसम्बन्धी शल्यक्रिया सुरु गरेको दाबी गरेको छ । हाल क्यान्सर उपचारका प्रमुख दुई आधार शल्यक्रिया र सिस्टेमिक थेरापी (किमोथेरापी, हर्मोनल तथा टार्गेट थेरापी) प्रभावकारी रूपमा सञ्चालनमा रहेको प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठले बताए । साथै, निकट भविष्यमा रेडियोथेरापी सेवा सुरु गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए।
क्यान्सर बिरामीका लागि न्यूनतम लागतमा शल्यक्रिया तथा किमोथेरापी सेवा, घरमै उपचार (होम केयर), अन्तर्राष्ट्रिय विशेषज्ञसँग सहकार्य, नियमित क्यान्सर स्क्रिनिङ कार्यक्रम तथा चिकित्सक र नर्सका लागि तालिम सञ्चालन हुँदै आएको प्रवक्ता श्रेष्ठले बताए ।
गत आर्थिक वर्ष २०८१/८२ मा प्रतिष्ठानले ३ सय १७ जना क्यान्सर शल्यक्रिया, २ हजार ७ सय २८ जना बहिरङ्ग सिस्टेमिक थेरापी र ९ सय २२ जना अन्तरङ्ग सिस्टेमिक थेरापी सेवा प्रदान गरेको प्रतिष्ठानको तथ्यांकले देखाएको छ । प्रतिष्ठानले आफ्ना सेवाहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार, प्रमाणमा आधारित र पारदर्शी ढंगले प्रदान गरिरहेको दाबी गरेको छ। प्रत्येक बिरामीको उपचार बहुविषयगत टोलीको सल्लाहमा हुने भएकाले व्यक्तिगतभन्दा संस्थागत निर्णयलाई प्राथमिकता दिइने विज्ञप्तीमा उल्लेख छ।
त्यस्तै क्यान्सर उपचारलाई अझ प्रभावकारी बनाउन छिट्टै रेडियोथेरापी सेवा सुरु गर्ने लक्ष्य राखेको जनाउँदै क्यान्सर उपचार हुँदैन भन्ने भ्रामक हल्लाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, सस्तो, सुलभ र गुणस्तरीय सेवा दिन आफूहरू प्रतिबद्ध रहेको दोहोर्याउँदै गलत प्रचारमार्फत सेवा अवरुद्ध गर्ने प्रयास नगर्न पनि अपिल गरेको छ।
