कोशी मिडिया समिट १४ बुँदे घोषणापत्र जारी गर्दै सकियो

नयन एड्भरटाइजिङ मिडिया प्रालिको आयोजनामा तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य र महासंघ सुनसरीको संयोजनमा इटहरीमा समिट आयोजना गरिएको थियो ।

चैत्र ८, २०८२

अर्जुन सुवेदी

Koshi Media Summit concludes with the issuance of a 14-point declaration

सुनसरी — कोशी मिडिया समिट पत्रकारिता, विज्ञापन बजार तथा सञ्चार उद्योगका विविध पक्ष समेट्दै १४ बुँदे 'कोशी घोषणापत्र’ जारी गर्दै सम्प्न भएको छ । 

नयन एड्भरटाइजिङ मिडिया प्रालिको आयोजनामा तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य र महासंघ सुनसरीको संयोजनमा इटहरीमा समिट आयोजना गरिएको थियो । जारी घोषणापत्रमा नेपाल सरकारअन्तर्गत संघीय, प्रदेश र स्थानीय तहले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रभावकारी कार्यान्वयनमा भूमिका सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ । साथै पत्रकारमाथि हुने आक्रमण र धम्कीका घटनामा संलग्नलाई कडा कारबाही गर्दै पत्रकार सुरक्षाको ग्यारेन्टी गर्न सरकारसाग माग गरिएको छ । 

घोषणापत्रले सूचना विभागबाट वितरण हुने प्रेस पासलाई सहज बनाउने, दुरुपयोग रोक्ने तथा सम्पादकीय स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएको छ । मर्यादित पत्रकारिताको विकासका लागि प्रेस काउन्सिल नेपालको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिइएको छ ।

'मिस इन्फर्मेसन’ र 'डिस इन्फर्मेसन’ बढ्दै गएको सन्दर्भमा पत्रकारहरूलाई जिम्मेवार र विश्वसनीय बन्न आग्रह गर्दै आचारसंहिताको पूर्णपालना र समयानुकूल परिमार्जन आवश्यक रहेको निष्कर्ष निकालिएको छ । सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप परिवर्तन भइरहेकाले यसबारे नयाँ बहस आवश्यक रहेको पनि समिटले औंल्याएको छ । 

त्यस्तै, सामाजिक सञ्जाल, कन्टेन्ट क्रिएटर र पत्रकारबीचको भिन्नता स्पष्ट पार्न मिडिया साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । सरकारी विज्ञापन वितरणलाई समानुपातिक र समावेशी बनाउन, संकटमा रहेका सञ्चारगृहलाई अनुदान तथा सहुलियत ऋण उपलब्ध गराउन माग गरिएको छ ।

घोषणापत्रमा लोककल्याणकारी विज्ञापनमा कर छुट, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, सञ्चारगृहलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने लगायत विषय समेटिएका छन् । साथै लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको संरक्षणका लागि पेशागत संगठनहरूलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । 

समिटले कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन तथा प्रदेशको समग्र विकास र समृद्धिमा पत्रकारिता मार्फत सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ । घोषणापत्र समितिको संयोजकमा अमर खड्का रहेका थिए भने सदस्यहरूमा हिमाल दाहाल र शिशिर भट्टराई थिए । 

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष कुमार शर्मा आचार्य, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्ऽ झा, गोरखापत्र संस्थानका अध्यक्ष अखण्ड भण्डारी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं तथा महासंघका महासचिव रामप्रसाद दाहाल लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए । 

यसैगरी महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले कार्यपत्र प्रस्तुत गरेका थिए भने महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले कार्यक्रमबारे प्रकाश पारे ।

अर्जुन

Link copied successfully