मनमाेहन विश्वविद्यालयले धनकुटामा ३ सय वेडकाे विशिष्ट स्वास्थ सेवा उपलब्ध गराउने योजना

जिल्ला अस्पतालकाे स्तर वृद्धि गरेर विशेषज्ञ सेवा अघि बढाउने योजना अगाडि सारिएको मनमाेहन प्राविधिक विश्वविद्यालयका उपकुलपति सुवास श्री पाेखरेलले बताए।

चैत्र ७, २०८२

रमेशचन्द्र अधिकारी

Manmohan University plans to provide specialized healthcare services with 300 beds in Dhankuta

धनकुटा — काेशी प्रदेश सरकार मार्फत सञ्चालनमा रहेकाे मनमाेहन प्राविधिक विश्वविद्यालयले धनकुटामा ३ सय वेडकाे सेवा विस्तार गर्ने याेजना अघि सारेकाे छ।

मनमोहन प्राविधिक विश्वविद्यालयको साझेदारीमा धनकुटा  जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन र विकास गर्ने विषयमा शनिबार विस्तृत छलफलमा उक्त जानकारी दिइएकाे हाे।

जिल्ला अस्पतालकाे स्तर वृद्धि गरेर विशेषज्ञ सेवा अघि बढाउने योजना अगाडि सारिएको मनमाेहन प्राविधिक विश्वविद्यालयका उपकुलपति सुवास श्री पाेखरेलले  बताए। उक्त याेजनाकाे लागि ३ सय राेपनी जग्गा तथा ८ अर्ब बजेट आवश्यक पर्ने उनले बताए।

याेजना अनुसार अघि बढेमा ०८३/०८४ देखि सेवा सञ्चालन गर्न सकिने पाेखरेलकाे भनाइ छ। बाल राेग, स्त्री राेग, न्युराे, मुटुराेगलगायत विशेषज्ञ सेवा उपलब्ध हुने बताइएकाे छ। उक्त सन्दर्भमा आयाेजना गरिएको बृहत् छलफलमा अस्पतालकाे पहिचान कायम राख्नेगरी शिक्षण अस्पताल सञ्चालन गरिनु पर्नेमा सहभागीले जाेड दिएका छन्। 

उक्त कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले धनकुटासहित पूर्वी पहाडी जिल्लाको लागि विशिष्ट स्वास्थ्य सेवा उपलब्ध हुने भएकाले सेवा सञ्चालन हुनुपर्नेमा जाेड दिए। कार्यक्रममा प्रदेशसभाका सांसद निरन राई, ईन्दिरा थापा, अस्पताल विकास समितिका संयाेजक निरेन तामाङ, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरुले धारणा राखेका थिए।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully