धनकुटामा पहिरोले सडक अवरुद्ध

शनिबार अपराह्न ४:३० बजे अविरल वर्षापछि सडक माथिबाट पहिरो खस्दा बाटो दुवै तर्फबाट बन्द भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

चैत्र ७, २०८२

विनोद घिमिरे

Landslide blocks road in Dhankuta

धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित निर्माणाधीन रवि–राँके–भेडेटार सडक खण्डमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

शनिबार अपराह्न ४:३० बजे अविरल वर्षापछि सडक माथिबाट पहिरो खस्दा बाटो दुवै तर्फबाट बन्द भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । भेडेटारबाट डाँडाबजारतर्फ जाँदै गरेको को १ क ३३०९ नम्बरको मिनी ट्रक पहिरोको बीच भागमा फसेको छ । 

मोरङको पथरी शनिश्चरे नगरपालिका–१ बस्ने २२ वर्षीय चालक योगेश गौतमले चलाएको उक्त खाली ट्रक पहिरोका कारण बीचमै अड्किएको हो । प्रहरीका अनुसार चालक सकुशल रहेका छन् र सम्पर्कमा छन् । हालसम्म ट्रकमा कुनै क्षति पुगेको छैन ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली खटिएको छ । पहिरो हटाउँदै ट्रक निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

निरन्तर पहिरो खसिरहेकाले उक्त सडक खण्डमा यात्रा नगर्न तथा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully