लाहा फर्निचरको रङ, गरगहना तथा सौन्दर्य सामग्री, जुत्ताको पोलिस, नेल पोलिस, क्याप्सुल, ट्याब्लेट, बिजुलीका बल्ब, लाहा छाप तथा घरेलु हातहतियारमा प्रयोग हुने गर्दछ ।
What you should know
धनकुटा — धनकुटालगायत पूर्वका विभिन्न जिल्लाका कृषक व्यावसायिक लाहा खेतीबाट आम्दानी हात पार्दै आएका छन्। परम्परागत रुपमा लाहा खेती गर्दै आएका कृषक पछिल्लो समय व्यावसायिक खेतीमा जुटेका छन् ।
जसमध्ये धनकुटाको साँगुरीगढी गाउँपालिका–३ याङ्लीखाम गाउँका कृषक ललित नेम्वाङ पनि एक हुन् । उक्त गाउँका ३५ घरले लाहा खेती गर्दै आएको नेम्वाङले बताए । हाल प्रतिकेजी साढे ५ सय रुपैयाँसम्ममा लाहा बिक्रि हुँदै आएको छ । याङ्लीखाम गाउँबाट हरेक वर्ष १ हजार केजी बढी लाहा निकासी भइरहेको कृषकले बताए । ‘लाहा खेतीको भविष्य राम्रो देखेर लागेका छौं,’ उनले भने, ‘सुरुमा सामान्य रुपमा थाले पनि अहिले आशा बढाएको छ ।’
डिभिजन वन कार्यालय धनकुटाले अघिल्लो वर्ष जिल्लाको चौबिसे र साँगुरीगढी गाउँपालिकाका ६ वटा सामुदायिक वनमा लाहा खेतीको बिस्तार गरेको थियो । यसबाट कृषकको आकर्षण देखेपछि पाख्रीबास र महालक्ष्मी नगरपालिकामा समेत खेती बिस्तार गरिएको छ ।
लाहालाई कृषकले व्यावसायिक उत्पादन गर्न थालेपछि डिभिजन वन कार्यालयले योजनाबद्ध रुपमा कार्यक्रम अघि सारिएको वन अधिकृत धर्मनाथ यादवले बताए । गत वर्ष ५ हजार केजी लाहा निकासीबाट २६ हजार राजश्व संकलन गरेको उनले बताए ।
लाहा फर्निचरको रङ, गरगहना तथा सौन्दर्य सामग्री, जुत्ताको पोलिस, नेल पोलिस, क्याप्सुल, ट्याब्लेट, बिजुलीका बल्ब, लाहा छाप तथा घरेलु हातहतियारमा प्रयोग हुने गर्दछ । अन्तर्राष्ट्रिय स्तरमा समेत माग बढ्ने क्रम रहेपछि यसतर्फ कृषकको चासो बढेको यादवको भनाई छ ।
कृषकको आकर्षण बढेकाले डिभिजन वन कार्यालयले विभिन्न चरणका तालिम, अन्तरक्रिया र योजना अघि सारेको डिभिजन वन अधिकृत सञ्जिवराज ढकालले बताए । उनका अनुसार आगामी जेठ, असारमा लाहाको लागि थप विरुवा वितरण गरिने भएको छ । अघिल्लो वर्ष सम्बन्धित कृषकलाई प्रविधि हस्तान्तरण गरिएको थियो ।
तराईमा पनि विस्तार हुँदै
लाहा खेतीमा पहाड तथा तराईका कृषक नै आकर्षित छन् । झापा गौराहदका डम्बर विश्वकर्माले २०७५ सालदेखि पाँच बिगाहा जमिन भाडामा लिएर लाहा खेती गर्दै आएका छन् । उनले गौरादह–२ मा निर्मल चप्रा उद्योग समेत सञ्चालन गरेर वार्षिक डेढ सय मजदुरलाई रोजगार समेत दिएका छन् । उनले लाहा बाँध्ने, खोल्ने, काट्ने तथा प्रशोधन गर्न रोजगारी दिएको बताए । उनले लाहा खेतीको अगुवाइ गर्दैर् अन्य कृषकलाई यसमा जोड्दै आएको सुनाए । ‘मैले यसको भविष्य देखेरै लाहा खेतीमा हुँ,’ उनले भने, ‘एकातिर आम्दानी हुन्छ भने अर्कोतिर बोटविरुवा रोप्नु पर्दा पर्यावरणीय दृष्टिले समेत महत्व रहने भएकोले अघि बढेको छु ।’
लाहाबाट उत्पादन हुने चप्राको माग बढेसँगै विश्वकर्माले धनकुटा, भोजपुर र तेह्रथुमका किसानलाई लाहा खेती गर्न सिकाएर खरिद गर्दै आएका छन् । वर्षमा दुई याममा उत्पादन हुने लाहा उनले वार्षिक आठ हजार किलोसम्म उत्पादन गर्दै आएका छन् । उनका अनुसार कोशी प्रदेशबाट वार्षिक २०–२५ क्विन्टलसम्म उत्पादन हुँदै आएको छ ।
लाहाको बीउ उत्पादन गर्न बयरको बोट उत्तम मानिन्छ । एक किलो लाहा बराबर पाँच सय ग्राम चप्रा निस्किने गरेको छ । रंगीन लाहा सात–आठ सयमा बिक्री हुँदै आएको छ भने कुसुमी लाहा १ हजार प्रतिकेजी बिक्री हुने गरेको डिभिजन वन धनकुटाका अधिकृत यादव बताउँछन् । चप्रा पूर्वकै बजारमा अपुग रहेको उनले बताए । लाहाबाट चप्रा निस्किन्छ भने चप्राबाट रेजिन, गम र पप्स तीन बस्तु निस्किन्छ । उक्त चप्राको सुन तथा फर्निचर पसलमा उच्च माग रहेको छ ।
मोरङ वन कार्यालयका प्रमुख उत्सव थापाका अनुसार लाहा खेतीका लागि धनकुटाको साँगुरीगढी र चौबिसे गाउँपालिका उर्वरभूमि रहेको छ । लाहा बहुआयामिक भएकाले कोशी प्रदेश सरकारले यसको खेती विस्तार र प्रबर्द्धन कार्यक्रम अघि सारेको उनले बताए । यसको खेतीमा जुटेका कृषकलाई प्रोत्साहन गर्दै थप विस्तार गर्ने योजना रहेको उनको भनाई छ ।
भोजपुरमा समेत निजी, सामुदायिक तथा कबुलियती वनमा लाहा खेती थालनी गरिएको छ । जसमा अरुण गाउँपालिकाका तीन सामुदायिक र निजी वनमा परिक्षणको लागि लाहा खेती थालिएको वन कार्यालयले जनाएको छ ।
विज्ञका अनुसार लाहा एक प्रकारको सानो किराले रुखको हाँगामा बस्दै रस चुसेर उत्पादन हुने प्राकृतिक पदार्थ हो । लाहा किरा खासगरी, कुसुम, पलास, खयर, बयर जस्ता रुखमा बस्न मन पराउँछ । रुखको नरम हाँगामा टाँसिएर रस चुस्दै आफ्नो जीवनचक्र पूरा गर्ने परजिवीलाई नै लाहा भनिने वन कार्यालय मोरङका प्रमुख थापाले बताए । उनका अनुसार भाले र पोथी गरी दुई प्रकारका किरा हुन्छन् । भाले लाहामा खुट्टा, आँखा, टाउको भएको १५ मिलिमिटर लम्बाइसम्मको हुन्छ । जुन कलेजी रङको हुन्छ ।
पोथीसँग संसर्गपछि यसको मुख कुच्चिने भएकोले खान नसकेर दुई, तीन दिनमा मर्छ । यस्तै, पोथी भने ५ मिलिमिटर तथा कलेजी रङको हुन्छ । पोथी लाहा जीवनभर एकै ठाउँमा मात्र बस्छ । यस किराको जीवनचत्रसँगै रुखको हाँगामा बाक्लो तहको रुपमा लाहा जम्ने गर्दछ । सोही लाहा संकलन गरेर प्रशोधनपछि बिक्री योग्य हुन्छ ।
