धनकुटा नगरपालिकाको निगाले क्षेत्रमा एकै स्थानमा सातवटा पोल भाँचिनुका साथै जडान गरिएको ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ।
धनकुटा — सोमबार राति आएको शक्तिशाली हावाहुरीपछि अवरुद्ध भएको धनकुटाको विद्युत आपूर्ति आंशिक रूपमा सुचारु भएको छ। तर, सदरमुकाम क्षेत्र भने अझै अन्धकारमै रहेको छ।
नेपाल विद्युत प्राधिकरण, धनकुटा वितरण केन्द्रका अनुसार भेडेटार, हिले, पाख्रीबास र मूलघाटलगायतका क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालनमा आइसकेको छ। महालक्ष्मी नगरपालिकाको तल्लो भेगमा समेत विद्युत आपूर्ति सुचारु गरिएको जनाइएको छ।
यद्यपि, हावाहुरीकै कारण छथर जोरपाटी क्षेत्रमा ३३ केभी प्रसारण लाइनको पोल ढल्दा धनकुटा बजारमा विद्युत सेवा अवरुद्ध भएको हो। धनकुटा नगरपालिकाको निगाले क्षेत्रमा एकै स्थानमा सातवटा पोल भाँचिनुका साथै जडान गरिएको ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ।
क्षतिग्रस्त संरचना मर्मत गर्ने काम भइरहेको र सदरमुकाममा विद्युत सेवा पुनः सञ्चालन गर्न प्रयास भइरहेको वितरण केन्द्रका प्रमुख विजलीप्रसाद यादवले जानकारी दिए।
