सुर्खेत घटनाको निष्पक्ष छानबिन माग गर्दै धनकुटाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ज्ञापनपत्रमार्फत दोषीलाई कुनै पनि प्रभाव, दबाब वा बहानामा उन्मुक्ति नदिन, अभियुक्तको उमेर घटाउने वा प्रमाण किर्ते गर्ने प्रयास भए कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय, सुरक्षा र आवश्यक सहयोग सुनिश्चित गर्न माग गरिएको छ।

चैत्र ४, २०८२

विनोद घिमिरे

Memorandum to the Prime Minister from Dhankuta demanding an impartial investigation into the Surkhet incident

धनकुटा —  

सुर्खेतको वीरेन्द्रनगरमा एक किशोरी इनिसा विकमाथि भएको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै धनकुटास्थित विभिन्न अधिकारवादी संघ-संस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

उनीहरूले बुधबार प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कामार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाएका हुन्। ज्ञापनपत्रमा उक्त घटनाको निष्पक्ष, पारदर्शी र गम्भीर अनुसन्धान गर्न जोडदार माग गरिएको छ।

ज्ञापनपत्रमार्फत दोषीलाई कुनै पनि प्रभाव, दबाब वा बहानामा उन्मुक्ति नदिन, अभियुक्तको उमेर घटाउने वा प्रमाण किर्ते गर्ने प्रयास भए कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय, सुरक्षा र आवश्यक सहयोग सुनिश्चित गर्न माग गरिएको छ।

दलित विकास केन्द्र नेपालका अध्यक्ष गोपाल बराइलीले घटनामा संलग्न भनिएका चार अभियुक्तलाई उमेर घटाएर नाबालक देखाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाए। उनले ‘न्यायमा कुनै पनि प्रकारको मोलमोलाइ स्वीकार्य छैन’ भन्ने सिद्धान्त कडाइका साथ लागू गर्न  आग्रह गरे।

बराइलीका अनुसार नागरिक समाज र मानवअधिकारकर्मीलाई पनि यस विषयमा सशक्त रूपमा आवाज उठाउन आह्वान गरिएको छ।

ज्ञापनपत्र बुझाउन दलित विकास केन्द्र नेपालका अध्यक्ष बराइली, दलित महिला संघ धनकुटाकी अध्यक्ष लक्ष्मी परियार, धनकुटा लेडिज जेसिसकी अध्यक्ष टीका राई तथा महिला अधिकारका लागि राष्ट्रिय अभियान धनकुटाकी अध्यक्ष पार्वती भण्डारीलगायत जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully