धनकुटाको मुख्य बजारमा छैन बिजुली

नेपाल विद्युत् प्राधिकरण, धनकुटा वितरण केन्द्रका अनुसार भेडेटार, हिले, पाख्रीबास र मूलघाटलगायतका क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको छ।

चैत्र ४, २०८२

विनोद घिमिरे

There is no electricity in the main market of Dhankuta.

धनकुटा —  

सोमबार राति आएको शक्तिशाली हावाहुरीपछि अवरुद्ध भएको धनकुटाको विद्युत् आपूर्ति आंशिक रूपमा सुचारु भएको छ। तर सदरमुकामको मुख्य बजारमा भने अझै बिजुली छैन ।

नेपाल विद्युत् प्राधिकरण, धनकुटा वितरण केन्द्रका अनुसार भेडेटार, हिले, पाख्रीबास र मूलघाटलगायतका क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको छ। महालक्ष्मी नगरपालिकाको तल्लो भेगमा समेत विद्युत् आपूर्ति सुचारु गरिएको जनाइएको छ।

यद्यपि, हावाहुरीकै कारण छथर जोरपाटी क्षेत्रमा ३३ केभी प्रसारण लाइनको पोल ढल्दा धनकुटा बजारमा विद्युत् सेवा अवरुद्ध भएको हो। धनकुटा नगरपालिकाको निगाले क्षेत्रमा एकै स्थानमा सातवटा पोल भाँचिनुका साथै जडान गरिएको ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ।

क्षतिग्रस्त संरचना मर्मत गर्ने काम भइरहेको र सदरमुकाममा विद्युत् सेवा पुनः सञ्चालन गर्न प्रयास भइरहेको वितरण केन्द्रका प्रमुख बिजुलीप्रसाद यादवले जानकारी दिए ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully