प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले हावाहुरीबाट भएको क्षतिको विवरण संकलन भइरहेको र पूर्ण रूपमा घर क्षति भएका परिवारलाई स्थानीय तहमार्फत प्रतिपरिवार १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए।
What you should know
धनकुटा — सोमबार राति आएको हावाहुरीका कारण धनकुटामा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक हुन थालेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार हालसम्म सरकारी कार्यालय, विद्यालय तथा निजी घर गरी १२ वटा संरचनामा क्षति पुगेको र करिब २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक तथ्याङ्क छ।
तर, प्रहरी र जिल्ला प्रशासनले सार्वजनिक गरेको तथ्याङ्कसँग स्थानीय तहका पदाधिकारीले उपलब्ध गराएको विवरण भने मेल खाएको छैन। स्थानीय तहका अनुसार थप क्षतिका विवरण आइरहेका छन् ।
छथर जोरपाटी गाउँपालिकामा मात्रै ६० भन्दा बढी घर, गोठ तथा अस्थायी टहरामा क्षति पुगेको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिए। यस्तै, सहिदभूमि गाउँपालिकामा व्यक्तिगत घर तथा विद्यालय गरी २९ वटा संरचनामा क्षति पुगेको छ। गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार बुर्खा, ज्यामिरे, लालाहाङ, डाँडागाउँ, खोकु, दोखानटोल, बाँसटोल र टोमराङलगायतका स्थानमा हावाहुरीले व्यापक क्षति पुर्याएको छ।
सहिदभूमिकै पोक्ला ठूलो गाउँको नर्सरी टोलमा हावाहुरीले घरका छाना उडाएको छ। घर बस्नै नहुने अवस्थामा पुगेका ९ परिवारलाई अस्थायी बसोबासका लागि त्रिपाल वितरण गरिएको अध्यक्ष राईले बताए।
धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा पनि क्षतिको विवरण संकलन भइरहेको छ। महालक्ष्मी नगरपालिका–७ काफ्ले टोलमा एक जनाको घर पूर्ण रूपमा क्षति भएको नगरप्रमुख धुरायराज रायले जानकारी दिए। पाख्रीबास नगरपालिका–४ का नेत्रबहादुर बस्नेतको घरमा समेत क्षति पुगेको छ। प्रहरीसँगको समन्वयमा विस्तृत विवरण संकलन भइरहेको पाख्रीबास नगरपालिकाका प्रमुखको सचिवालयका गोकुल घिमिरेले बताए।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले हावाहुरीबाट भएको क्षतिको विवरण संकलन भइरहेको र पूर्ण रूपमा घर क्षति भएका परिवारलाई स्थानीय तहमार्फत प्रतिपरिवार १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए। साथै, घर पुनर्निर्माणका लागि काठ खरिदमा ८० प्रतिशत छुट दिन डिभिजन वन कार्यालयमा सिफारिस गर्ने तयारीसमेत भइरहेको उनले बताए।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी शरदकुमार थापा क्षेत्रीले प्रहरी युनिटमार्फत विस्तृत विवरण संकलन जारी रहेको र सबै तथ्याङ्क आउन अझै केही समय लाग्ने बताए।
