सोमबारको हावाहुरीले विभिन्न व्यक्तिका घर, विद्यालय, रेडियोको रिपिटर टावर तथा प्रहरी चौकीको खानेपानी फिल्डरसहित २० लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
खोटाङ — जिल्लामा हावाहुरीले २० लाखभन्दा बढीको क्षति भएको छ । सोमबारको हावाहुरीले विभिन्न व्यक्तिका घर, विद्यालय, रेडियोको रिपिटर टावर तथा प्रहरी चौकीको खानेपानी फिल्डरसहित २० लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
खोटाङ बजारस्थित इलाका प्रहरी कार्यालयको खानेपानीको फिल्टरमा ३ लाख बराबरको क्षति भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका कमेरेका केशव पराजुलीको ढुंगा माटोले बनेको टिनको छाना भएको दुई तले घरको बरण्डाको छाना उडाउँदा एक लाख ५० हजार बराबरको क्षति भएको छ । त्यही ठाउँकै रमेश श्रेष्ठको ढुंगा माटोले बनेको टिनको छाना भएको दुई तले घरको छाना उडाउँदा एक लाख ५० हजार, कुमार श्रेष्ठको ढुंगा माटोको एक तले घरको छाना उडाउँदा एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा चम्पाकी सुनसरी राईको घर, सिर्जनशील अंग्रेजी प्राथमिक विद्यालयको चार वटा कोठाको छानामा क्षति पुर्याएको छ ।
सोही नगरपालिका–३ बाम्राङ कटवाल गाउँका पदमबहादुर कटवाल, वडा नम्बर १५ विजयखर्कका कुमार कामी, मेघे सार्की, बसेरीका मनोज ढकालका घरमा पूर्ण रूपमा क्षति पुगेएको छ । उक्त नगरपालिका–४ खाल्ले कात्तिकेका सुगम गदाल, हलेसी तुवाचुङ नगरपालिका–११ राजापनीको सिम्पानीका हितमान परियार, कुमार ढकाल, वडा नम्बर–८ धितुङको नमूना भन्ज्याङका छविलाल सार्की, कमलबहादुर सार्की, मानबहादुर सार्कीका घरमा क्षति पुर्याएको छ ।
यसबाहेक हलेसी रेडियोको मुढेस्थित रिपिटर टावर र छाना हावाले लडाउदा रेडियोको प्रसारण बन्द भएको छ । अन्य ठाउँको विवरण पनि संकलन भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले बताएका छन् ।
