हुरीले आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रभावित, धनकुटाका सरकारी संरचनामा व्यापक क्षति

हावाहुरीका कारण धनकुटाका सरकारी तथा निजी संरचनामा व्यापक क्षति पुगेको छ।

चैत्र ३, २०८२

रमेशचन्द्र अधिकारी, विनोद घिमिरे

Hurricane disrupts Ayurveda health center services, causes extensive damage to government structures in Dhankuta

धनकुटा — सोमबार राति आएको हावाहुरीका कारण धनकुटास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रभावित भएको छ।

हावाहुरीले भवन संरचनामा क्षति पुर्‍याएपछि बिरामी जाँच र औषधि वितरण कक्षसमेत प्रभावित बनेका हुन्।स्वास्थ्य केन्द्रकी प्रमुख विद्या श्रेष्ठका अनुसार हाल ओपिडी सेवा वैकल्पिक व्यवस्थामार्फत सञ्चालन गरिँदै औषधि वितरण भइरहेको छ। तर थेरापीलगायतका सेवा भने तत्कालका लागि स्थगित गरिएको उनले जानकारी दिइन्। 'थेरापी सेवा वैकल्पिक व्यवस्थापन गरेर भोलिबाट सुचारु गर्ने प्रयासमा छौँ,' श्रेष्ठले भनिन्।

यस्तै, हावाहुरीका कारण धनकुटाका सरकारी तथा निजी संरचनामा व्यापक क्षति पुगेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सदरमुकाम क्षेत्रमा मात्रै करिब दुई दर्जन सरकारी भवनमा क्षति पुगेको छ।

धनकुटाको बिहीबारे हटिया, माथिल्लो कोप्चे, भीमनारायण चोक, बीचबजार, सिरान बजार, सल्लेरी, देब्रेबासलगायतका स्थानमा ढुंगा–माटो र टिनका छाना भएका स्थानीयका घरहरूमा क्षति पुगेको छ।

त्यस्तै, धनकुटा बहुमुखी क्याम्पसको पासाङल्यामु हलस्थित पुस्तकालय, कोशी प्रदेश सङ्ग्रहालय, धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय, लोकसेवा आयोगको कार्यालय, कृषि ज्ञान केन्द्रअन्तर्गतको रेशम खेती विकास कार्यालयको किरा उत्पादन घर, डिभिजन वन कार्यालय तथा सशस्त्र प्रहरीको छारागाउँस्थित छिन्ताङ गुल्मलगायत सरकारी संरचनामा समेत क्षति पुगेको जनाइएको छ।

हालसम्म क्षतिको यकिन विवरण भने संकलनकै क्रममा रहेकाले पूर्ण तथ्यांक आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully