संखुवासभाको भोटखोला गाउँपालिका–२ को थुदाम गाउँमा ५२ वर्षभन्दा माथिका ५ जना मात्रै स्थायी रूपमा बस्ने गरेका छन्
What you should know
संखुवासभा — ३ हजार ४ सय मिटर उचाइँमा हिमालको काखमा रहेको भोटखोला गाउँपालिका–२ को थुदाम गाउँ पुग्नै साहसिक यात्रा गर्नु जस्तो हुने गर्छ । यहाँ अभ्यस्तबाहेकलाई उक्त गाउँ पुग्न सहज हुँदैन ।
हिमाली भूगोलको चिसो मौसम, न्यूनतम आधारभूत सुविधा नहुँदा यहाँको जीवन कष्टकर छ । कठिन भूगोलमा प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन खटिएका मतदान अधिकृत सुशील सिटौला कठोर सम्झना बोकेर फर्किएका छन् ।
मकालु वरुण राष्ट्रिय निकुञ्जका नायब सुब्बा सिटौला फागुन २१ मा निर्वाचन गराउन मतदान अधिकृतका रूपमा थुदाम पुगेका थिए । अन्य कर्मचारीसँगै खाँदबारीबाट मतपेटिका बोकेर हिँडेका उनी दुर्गम बाटो, हिमाली मौसम र कठिन यात्रा गर्दै चार दिनपछि थुदामको मतदान केन्द्र थुदाम पुगेका थिए । ‘फागुन १५ मा खाँदबारीबाट हिँडेका थियौं,’ सिटौलाले भने, ‘१९ गते बल्ल थुदाम पुग्यौं ।’ यात्रामा उनीसँगै १६ कर्मचारी र तीन जना नेपाली सैनिक पनि थिए । उनीहरूले मतपेटिका र आवश्यक सामग्री बोकेर हिमाली बाटो पार गरेका थिए।
कठिन यात्रापछि थुदाम पुग्दा उनीहरूले देखेको अचम्मको दृश्य देखे । मतदाता नामवलीमा थुदाममा ६३ जनाको नाम थियो । तर, मतदानको दिन केन्द्रमा भोट खसाल्न जम्मा १३ जना आइपुगे । त्यसरी मतदान गर्नेमा ९ पुरुष र ४ महिला थिए । १३ मत रहेको मतपेटिका मतदानको तीन दिनपछि मात्र सेनाको हेलिकप्टरले खाँदबारी ल्याएको थियो । ‘चुनाव हुने कुरा धेरैलाई थाहा नै रहेनछ,’ सिटौंलाले भने, ‘केही दलका एजेन्ट भने त्यहाँ पुगेका थिए ।’ कर्मचारीले गाउँ घुमेर स्थानीयलाई खबर गरेपछि माक्रै केही व्यत्ति भोट हाल्न आएका थिए। प्रहरीसँग सेटलाइट फोन मात्रै थियो । प्रहरीको सञ्चार सेट समेत उपलब्ध थिएन ।
कर्मचारीका अनुसार थुदाममा जम्मा २२ घर छन् । गाउँ प्रायः खालीजस्तै हुन्छ । धेरै स्थानीय पढाइ, स्वास्थ्य उपचार वा रोजगारीका लागि सदरमुकाम खाँदबारी र काठमाडौंतिर बसोबास गरिरहेका छन् । सिटौलाका अनुसार गाउँमा ५२ वर्षभन्दा माथिका ५ जना मात्रै स्थायी रूपमा बस्ने गरेका छन् । ‘गाउँमा पुग्दा हामीले वृद्धबृद्धा मात्रै भेट्यौं,’ उनले भने । उनीहरु नेपाली भाषा समेत राम्ररी बोल्न सक्दैनन् । उनीहरु भोटे भाषा मात्रै बोल्छन् । बाँकी मानिसहरू भने चौरी चराउन खर्कतिर गएका हुन्छन् । उनीहरु त्यतै जीवन निर्वाह गर्छन् ।
थुदामका स्थानीयको मुख्य पेशा भनेकै चौरीपालन हो । यसैबाट गुजारा चलाउने गरेका छन् । प्रत्येक परिवारसँग २० देखि ३० वटा चौरी छन् । हिउँद र गर्मी मौसममा उनीहरू चौरीसँगै खर्कतिर बस्छन् । त्यसैले गाउँ सुनसान हुन्छ । चौरीलाई पानी खुवाउन बेलाबेलामा नजिकैको छुजुङ खोलामा झर्ने गरेको ५३ वर्षीय लमुभुटिक भोटेले सुनाएका थिए । हिउँ चितुवाले चौरीलाई धेरै सताउने गरेको गुनासो पनि स्थानीयले सुनाएका थिए । स्थानीय उत्पादन लगभग हुँदैन । खेतीपाती सम्भव छैन । यहाँका बासिन्दाको मुख्य खाना चौरीको मासु हो ।
सिटौलाका अनुसार त्यहाँ खाद्यान्न अत्यन्त महँगो छ । ‘हामीले त्यहाँ ३ सय रुपैयाँ किलो चामल किनेर खायौं,’ उनले भने ‘खसीको मासु भने प्रतिकिलो २ हजार रुपैयाँ पर्छ । हरियो सागसब्जी देख्न पनि समस्या छ ।’ अत्यधिक चिसो, हिमपात र दुर्गम भौगोलिक अवस्थाका कारण दिन कटाउन गार्हो हुने उनले बताए । स्थानीयहरू वर्षैभरि कठ्याङ्गिग्रने चिसोमा दिनरात बिताउन बाध्य छन् । थुदामका बासिन्दाले खाने पानी पनि छुजुङ खोलाबाट ल्याउँछन् ।
सिटौलाका अनुसार पाँच जनाबाहेकका गाउँलेहरू मौसम अनुसार स्थान परिवर्तन गर्छन् । जाडो मौसममा चिसो छल्न तराई झर्ने गरेका छन् । त्यसैले चुनावको समयमा पनि धेरै मानिस गाउँमा थिएनन् । थुदामका स्थानीयको अर्को महत्त्वपूर्ण आयस्रोत हिमाली जडीबुटीको व्यापार हो । हिमालमा पाइने जडीबुटी संकलन गरेर उनीहरूले व्यापार गर्छन् । त्यसबाट आएको आम्दानीले जीवन धानिएको छ । स्थानीयका अनुसार आफन्त र चौरी गोठालाले बेलाबेलामा खानेकुरा ल्याइदिने गर्छन् । त्यसैको सहारामा उनीहरू वर्षभरि गुजारा चलाउँछन्।
मतदान अधिकृत सिटौलाका लागि थुदामको अनुभव चुनाव गराउने जिम्मेवारी मात्र थिएन । त्यो हिमाली जीवनको कठोर यथार्थ बुझने अवसर पनि बन्यो । ‘नेपालमा लोकतन्त्रको अभ्यास गाउँगाउँसम्म पुगेको भनिए पनि थुदाम जस्ता गाउामा जीवनको संघर्ष अझै पनि लोकतन्त्रभन्दा ठूलो छ,’ उनले भने, ‘यहाँका बासिन्दाका लागि चुनावभन्दा महत्वपूर्ण कुरा भनेको चौरी बचाउनु, चिसोबाट जोगिनु र दैनिक जीवन धान्नु हो ।’ यति कठिन परिस्थितिमा पनि केही स्थानीय मतदान गर्न केन्द्रसम्म आए । त्यो मत हाल्ने काम मात्र थिएन । हिमाली गाउँमा लोकतन्त्रको सानो तर महत्त्वपूर्ण संकेतका रूपमा आफूले बुझेको सिटौलाले बताए ।
