नेपाल विद्युत प्राधिकरण, धनकुटा वितरण केन्द्रका अनुसार भेडेटार, हिले, पाख्रीबास र महालक्ष्मी नगरपालिकाको तल्लो भेग, मूलघाटलगायतका क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालनमा आइसके पनि बजार क्षेत्रमा सञ्चालन हुन सकेको छैन ।
धनकुटा — सोमबार राति आएको हावाहुरीपछि अवरुद्ध धनकुटाको विद्युत आपूर्ति आंशिक रूपमा सुरु भए पनि सदरमुकाम बजार क्षेत्र भने २४ घण्टादेखि विद्युतविहीन छ।
नेपाल विद्युत प्राधिकरण, धनकुटा वितरण केन्द्रका अनुसार भेडेटार, हिले, पाख्रीबास र महालक्ष्मी नगरपालिकाको तल्लो भेग, मूलघाटलगायतका क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालनमा आइसके पनि बजार क्षेत्रमा सञ्चालन हुन सकेको छैन ।
हावाहुरीका कारण छथर जोरपाटी क्षेत्रमा ३३ केभी प्रसारण लाइनको पोल ढल्दा धनकुटा बजारमा भने अझै विद्युत सेवा अवरुद्ध छ । धनकुटा नगरपालिकाको निगाले क्षेत्रमा एकै स्थानमा ७ वटा पोल भाँचिनुका साथै ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ।
धनकुटा वितरण केन्द्रका प्रमुख बिजुलीप्रसाद यादवका अनुसार क्षतिग्रस्त संरचना पुनःस्थापना गर्ने काम तीव्र रूपमा भइरहेको छ। 'मर्मत कार्य जारी छ, रातिसम्म सदरमुकाममा विद्युत आपूर्ति पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ,' उनले भने । अहिले सदरमुकामको सल्लेरीमा क्षतिग्रस्त विद्युत लाइन मर्मत भइरहेको उनले बताए।
हावाहुरीबाट जिल्लाभर कति क्षति पुगेको छ भन्ने यकिन विवरण अझै आउन बाँकी रहेको छ । क्षतिको अवस्था मूल्यांकन गर्न ७ देखि ८ वटा प्राविधिक टोली परिचालन गरिएको र विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।