धनकुटा नगरपालिका-४, देब्रेबासस्थित जनउत्थान टोलका गोपाल कार्कीको घरभित्र कुवा छ । उनको त्यही कुवाले आसपासका चार गाउँका बासिन्दाको प्यास मेटाइरहेको छ । जग्गा खरिद गर्दा त्यहाँ पानी भएको कुनै संकेत थिएन । तर, घर निर्माण थाल्दा मूल भेटिएपछि कार्की डराएका थिए । पछि त्यही मूललाई कुवा बनाए ।
धनकुटा — घरआसपास कुवा हुनु स्वाभाविक लाग्छ । तर, परिवार ओत लाग्ने घरभित्र कुवा निर्माण गरिएको सुन्दा पत्याउन गाह्रो हुन्छ । धनकुटा नगरपालिका-४, देब्रेबासस्थित जनउत्थान टोलका गोपाल कार्कीको घरभित्र कुवा छ ।
उनको त्यही कुवाले आसपासका चार गाउँका बासिन्दाको प्यास मेटाइरहेको छ । जग्गा खरिद गर्दा त्यहाँ पानी भएको कुनै संकेत थिएन । तर, घर निर्माण थाल्दा मूल भेटिएपछि कार्की डराएका थिए । पछि त्यही मूललाई कुवा बनाए ।
उनले एक दशकअघि घडेरी किनेका थिए । चार वर्षअघि घर बनाउन जग खन्ने क्रममा जमिनभित्रबाट पानी रसाएको देखियो । त्यसलाई सामान्य रूपमा लिएर घर निर्माण भयो । तर, पानी रसाउने क्रम रोकिएन । हेर्न आउनेले पानी उम्रिएको ठहर गरेपछि उनी अचम्म परे । अनि लाखौं खर्चिएर बनाएको घर के होला भन्ने चिन्तामा परे । सुरूमा घर बनाएकै ठाउँमा पानी आउने क्रम देखिएपछि कार्कीले चिन्तित बनेको बताए । तर, त्यसको समाधान खोज्ने क्रममा घरैभित्र कुवा बनाउने निर्णयमा पुगे । घरैभित्र व्यवस्थित रूपमा आफ्नै खर्चमा कुवा बनाएका छन् ।
जुन कुवाबाट परिवार मात्र होइन, यतिबेला आसपासका ३० परिवारले शुद्ध पानी पिउन पाएका छन् । अहिले पाँच हजार लिटरको कुवा बनाएका छन् । धनकुटामा वितरण गरिएको पानी अनिवार्य उमाल्ने तथा फिल्टर गर्नै पर्ने हुन्छ । तर, कुवाको पानी पिउनयोग्य रहेकाले स्थानीयले गाग्री वा अन्य भाँडामा थापेर पिउन प्रयोग गरेका छन् । त्यहाँको पानी अधिकारी टोल, अमलाटार, नुनथला, मगर टोल लगायतका उपभोक्ताले प्रयोग गर्दै आएका छन् । नुहाउने धुवाउने कामबाहेक पिउनको लागि मात्र पानी वितरण गरिएको कार्कीकी श्रीमती गंगाले बताइन् ।
स्थानीय सीता अधिकारीका अनुसार वर्षौं पहिले कार्कीको घरनजिकै कुवा थियो । तर, कुवा सुकेपछि आसपास घर तथा मन्दिरलगायतका संरचना बनाइएको छ । कार्कीको घरभित्रको कुवाको पानी पाइपबाट आँगन छेउको सार्वजनिक ठाउँमा धारा बनाइएको छ । ‘सुरूमा घरभित्रै पानी उम्रिँदा चिन्ता लागेको थियो,’ कार्कीले भने, ‘अहिले व्यवस्थित गरेर अरूका लागि पनि पिउने पानी उपलब्ध गराउन पाउँदा खुसी लागेको छ ।’ उनका अनुसार, राम्रो पक्ष त यो छ कि, जतिसुकै खडेरी परे पनि त्यहाँको पानी सुकेको छैन ।
दैनिक पिउन प्रयोग गरिनु त छँदैछ, गाउँघरमा हुने विवाह, व्रतबन्धलगायत सामाजिक काममा समेत त्यहिँको पानीले गर्जो टर्ने स्थानीय गोपाल भण्डारी बताउँछन् । ‘हामीलाई यहाँको कुवाले धेरै राहत दिएको छ,’उनले भने, ‘कुवास्थलनजिकै लक्ष्मी नारायण मन्दिर छ ।’ जहाँ आयोजना गरिने विभिन्न सामाजिक काममा कार्कीकै घरभित्रको कुवाको पानी प्रयोग गरिने स्थानीय कोपिला बुढाथोकीले बताइन् । उनले नजिकै रहेको आफ्नै घरसम्म पाइपबाट कुवाको पानी लगेकी छिन् ।
त्योसँगै कार्कीको छिमेकमा तीन वर्ष यता पाँच वटा घरसमेत बनेका छन् । ती घर बनाउँदासमेत त्यहीँको पानी अत्यधिक प्रयोग गरिएको थियो । छिमेकमा घर बनाउँदा सहयोग गर्न पाइएको उनी बताउँछन् । अधिकारी गाउँ, अमलाटार, नुनथलालगायतबाट पानी लिन आउने गर्छन् । उमाल्न पनि नपर्ने र फिल्टर नगरी पिउन हुने भएकोले स्थानीयले कुवाको पानी रुचाउने गरेको स्थानीय गोविन्द अधिकारी बताउँछन् । छेवैमा वर पिपलको चौतारीसमेत छ । उकाली-ओराली पैदल हिँड्ने बटुवालाई समेत त्यसै कुवाको पानीले प्यास मेट्ने गरेको उनले सुनाए ।
धनकुटामा वितरण गरिएको पानी वर्षात्को बेला धमिलो लेदो मिसिएर स्थानीय उपभोक्ता दिक्दारिएका छन् । तर, त्यहाँको कुवाको पानी भने सधैँ सङ्लो हुने पानी भर्न पुगेकी स्थानीय सम्झना भण्डारीले बताइन् ।
