सदरमुकामस्थित नेपाली सेनाको भीमदल गण ब्यारेक नजिकै रुख ढलेर सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरदकुमार थापा क्षेत्रीले जानकारी दिए।
धनकुटा — सोमबार बेलुका आएको हावाहुरीसहितको वर्षाले कोशी राजमार्गअन्तर्गत धनकुटा–हिले सडक खण्ड अवरुद्ध भएको छ।
धनकुटा सदरमुकाम नजिकै सल्लेरी क्षेत्रमा रुख ढल्दा राजमार्ग अवरुद्ध भएको हो। सदरमुकामस्थित नेपाली सेनाको भीमदल गण ब्यारेक नजिकै रुख ढलेर सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरदकुमार थापा क्षेत्रीले जानकारी दिए।
उनका अनुसार अचानक आएको हावाहुरीका कारण रुख सडकमा ढलेपछि सवारी आवागमन प्रभावित भएको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच हावाहुरी र वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा भएको सम्भावित भौतिक क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरी उपरीक्षक थापा क्षेत्रीले बताए। अहिलेसम्म क्षतिको यकिन विवरण प्राप्त नभए पनि प्रहरीले स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरी जानकारी संकलन गरिरहेको जनाएको छ।
