धनकुटाको पाख्रीबास नगरसभामा ३ करोड बराबरका योजना प्रस्तुत हुने

सोमबारका लागि बोलाइएको सत्रौं हिउँदे नगरसभामा २ करोड ९४ लाख ५० हजार रुपैयाँ लागतका योजना पेस गरिने नगर प्रमुख ज्ञानबहादुर गुरुङले जानकारी दिए।

चैत्र १, २०८२

विनोद घिमिरे

Plans worth Rs 30 million to be presented at Pakhribas Municipal Assembly in Dhankuta

What you should know

धनकुटा — जिल्लाको पाख्रीबास नगरपालिकाले कृषि, पूर्वाधार र सामाजिक सेवामा केन्द्रित रहेर ३ करोड रुपैयाँ बराबरका १३ वटा प्रमुख योजना आगामी नगरसभामा प्रस्तुत गर्ने तयारी गरेको छ।

सोमबारका लागि बोलाइएको सत्रौं हिउँदे नगरसभामा २ करोड ९४ लाख ५० हजार रुपैयाँ लागतका योजना पेस गरिने नगर प्रमुख ज्ञानबहादुर गुरुङले जानकारी दिए। नगरपालिकाका अनुसार प्रस्तावित योजनाहरूमा कृषि उत्पादन वृद्धि, शिक्षा तथा खेलकुद प्रोत्साहन र आधारभूत पूर्वाधार सुधारलाई प्राथमिकता दिइएको छ।

प्रस्तावित योजनाअन्तर्गत हाइब्रिड धानको बीउ खरिदका लागि ६ लाख रुपैयाँ, जग्गा रजिष्ट्रेसन तथा मालपोत व्यवस्थापनका लागि ८ लाख र निःशुल्क विद्युत् मिटर वितरणका लागि ४ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।

यसैगरी फलफूलका बिरुवा खरिद, टनेल निर्माण तथा पानी पोखरी व्यवस्थापनका लागि ७५ लाख रुपैयाँ विनियोजन गर्ने प्रस्ताव गरिएको छ। कृषि क्याम्पसका लागि जग्गा व्यवस्थापनमा १८ लाख, जालपा देवी माध्यमिक विद्यालयमा कभर्ड हल निर्माणका लागि १७ लाख तथा नगरभित्रका माध्यमिक विद्यालयका विद्यार्थीलाई एसइई अतिरिक्त कोचिङ कक्षा सञ्चालन गर्न ४ लाख ५० हजार रुपैयाँ छुट्याउने योजना रहेको छ।

नगरसभामा कृषि सहकारीहरूलाई बिउँपुँजीका रूपमा २० लाख रुपैयाँ, फुसको छानो विस्थापन कार्यक्रमका लागि ३४ लाख, ह्युम पाइप खरिदका लागि ८० लाख तथा उत्तरपानी र पाख्रीबास क्षेत्रमा डिपबोरिङ खानेपानी योजनाका लागि ८ लाख रुपैयाँ बजेट प्रस्ताव गरिनेछ। त्यस्तै कृषि बजार व्यवस्थापनका लागि ५ लाख तथा फुटबल, भलिबल र ब्याडमिन्टन खेलकुद गतिविधि सञ्चालनका लागि ११ लाख रुपैयाँ प्रस्ताव गरिएको छ।

नगरपालिकाका अनुसार वडाबाट प्राप्त मागका आधारमा खानेपानी, सडक, विद्यालय तथा संस्थागत विकासका कार्यक्रमका लागि थप बजेट व्यवस्था गर्ने तयारी पनि गरिएको छ। बाली संरक्षणका लागि बाँदर तथा अन्य वन्यजन्तु नियन्त्रण गर्न हेरालु व्यवस्था गर्ने, वडास्तरीय सेवा शिविर सञ्चालन गर्ने तथा विराट न्यूरो हस्पिटलसँग उपचार सेवामा छुटसम्बन्धी सम्झौता गर्ने योजना समेत नगरपालिकाले अघि सारेको छ। त्यसैगरी वडा नम्बर ६, ८ र १० लाई जोड्ने अरुण कोरिडोर सडकको स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख गुरुङले प्रस्तावित योजनाले नगरको समग्र विकासलाई गति दिने विश्वास व्यक्त गरे। 'नगरको आर्थिक आधार कृषि भएकाले किसानलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिएका छौँ,' उनले भने, 'फलफूल खेती विस्तार, बिउँपूँजी व्यवस्था, टनेल र पानी पोखरी निर्माणजस्ता कार्यक्रमले कृषि उत्पादन र आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ।'

उनले ग्रामीण क्षेत्रको आधारभूत पूर्वाधार सुधारमा पनि नगरपालिकाले ध्यान दिएको उल्लेख गर्दै ह्युम पाइप खरिद, खानेपानी योजना र सडक स्तरोन्नतिले स्थानीय बासिन्दाको दैनिकी सहज बनाउने बताए।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully