माओवादीका धनकुटा जिल्ला इन्चार्ज कोइरालाले दिए राजिनामा

जनतामाझ केही प्रभाव भए पनि आंशिक मत मात्र प्राप्त भएको उल्लेख गर्दै केन्द्रीय सदस्यसमेत रहेका धनकुटा जिल्ला इन्चार्ज पुष्पबहादुर कोइरालाले नैतिक रूपमा पदमा बसिरहन उचित नहुने ठहर गर्दै जिम्मेवारीबाट राजिनामा दिएको बताएका छन्।

फाल्गुन ३०, २०८२

विनोद घिमिरे

Maoist Dhankuta district in-charge Koirala resigns

धनकुटा — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का धनकुटा जिल्ला इन्चार्ज पुष्पबहादुर कोइरालाले पदबाट राजिनामा दिएका छन्।

पार्टीको किराँत लिम्बुवान प्रदेश समितिलाई सम्बोधन गर्दै उनले धनकुटा जिल्ला इन्चार्ज तथा संखुवासभा जिल्लाको कार्यवाहक इन्चार्ज पदबाट राजिनामा दिएका  हुन्। उनले २०८२ फागुन ३० गतेदेखि लागू हुने गरी राजिनामा दिएको आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 

राजिनामा पत्रमा पार्टीले निर्वाचनलाई संघर्षको मोर्चाको रूपमा उपयोग गर्ने नीतिअनुसार २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा सहभागी भएको उल्लेख गरिएको छ। पार्टीले भ्रष्टाचारविरुद्ध कारबाही गर्ने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, एमसीसी खारेजजस्ता एजेन्डासहित निर्वाचनमा गएको उनले बताए।

यस्तै शिक्षा, स्वास्थ्य, बिजुली र पिउने पानी निःशुल्क गर्ने तथा अग्राधिकारसहितको समाजवादी संघीयता स्थापना गर्ने कार्यक्रम लिएर जनतामाझ पुगे पनि अपेक्षित मत प्राप्त हुन नसकेको उनको भनाइ छ।

जनतामाझ केही प्रभाव भए पनि आंशिक मत मात्र प्राप्त भएको उल्लेख गर्दै उनले नैतिक रूपमा पदमा बसिरहन उचित नहुने ठहर गर्दै जिम्मेवारीबाट राजिनामा दिएको बताएका छन्। कोइराला नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सदस्यसमेत हुन्।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully