आईफोन प्रयोगकर्ताका लागि बीपी प्रतिष्ठानको मोबाइल एप सार्वजनिक

यससँगै अस्पतालको अनलाइन ओपीडी दर्ता सेवा आईओएस प्रयोगकर्ताले पनि लिन सक्ने प्रतिष्ठानले जनाएको छ ।

फाल्गुन ३०, २०८२

एलिना राई

BP Foundation's mobile app released for iPhone users

What you should know

धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अब आईफोन प्रयोगकर्ताका लागि एप पनि सार्वजनिक गरेको छ। यससँगै अस्पतालको अनलाइन ओपीडी दर्ता सेवा आईओएस प्रयोगकर्ताले पनि लिन सक्ने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले यसअघि एन्ड्रोइडमा मात्र उपलब्ध रहेको एपलाई विस्तार गर्दै आईफोनमा पनि उपलब्ध गराएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठ ले बताए । 

अब सेवाग्राहीहरूले एप स्टोर बाट बीपीकेआईएचएस एप डाउनलोड गरेर घरमै बसेर जनरल ओपीडीका लागि नयाा दर्ता तथा फलोअपका लागि नाम दर्ता गर्न सक्ने उनले जानकारी दिए। एपमार्फत अनलाइन दर्ता गर्ने बिरामीलाई अस्पतालको ओपीडी टोकन प्रणालीमा अग्रता दिइने उनले बताए । साथै बिलिङ सेवामा पनि प्राथमिकता दिइने व्यवस्था गरिएको जनाईएको छ ।

हाल प्रारम्भिक चरणमा प्रत्येक विभागका लागि दैनिक २० जना बिरामीको अनलाइन दर्ता कोटा निर्धारण गरिएको प्रतिष्ठानले जनाएको छ। सेवाग्राहीको माग तथा प्रणालीको कार्यक्षमताका आधारमा आगामी दिनमा यो संख्या बढाउँदै लैजाने योजना रहेको प्रवक्ता श्रेष्ठले बताए।

प्रतिष्ठानका अनुसार आगामी दिनमा एपलाई थप परिष्कृत गर्दै प्रयोगशाला तथा रेडियोलोजी सेवाका रिपोर्टहरू पनि एपबाटै हेर्न र प्रिन्ट गर्न सकिने सुविधा थपिने तयारी भइरहेको छ । 

यसैगरी पेइङ्ग ओपीडी दर्ता तथा स्वास्थ्य बिमा बोर्डबाट अनुमति प्राप्त भएपछि बिमामार्फत हुने ओपीडी दर्ता सेवा पनि एपमै समेट्ने योजना रहेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अस्पतालमा हुने भीड व्यवस्थापन, बिरामीको समय बचत तथा सेवा प्रवाहलाई थप सहज बनाउन यो प्रविधि उपयोगी हुने विश्वास प्रतिष्ठानले लिएको छ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully