फागुनमै बाढी, फेमे खोला डाइभर्सन बगाउँदा यातायात अवरुद्ध

बिहीबार साँझ पानी पर्नासाथ आएको बाढीले डाइभर्सनका लागि राखिएका हृयुम पाइप बगाएको थियो।

फाल्गुन २९, २०८२

लक्ष्मी गौतम

Traffic disrupted as flood hits Phagun, Feme River diversion overflows

पाँचथर — सामान्य वर्षा हुनासाथ आएको बाढीले फेमे खोलाको डाइभर्सन बगाउँदा फिदिम फालौट सडक खण्डमा यातायात र ढुवानीका साधन आउजाउ बन्द भएको छ ।

बिहीबार साँझ पानी पर्नासाथ आएको बाढीले  डाइभर्सनका लागि राखिएका हृयुम पाइप बगाएको थियो।

हृयुमपाइप एकसय मिटर तलसम्म बगाएर लगेकाले सवारी र ढुवानीका साधन आउजाउ ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सदरमुकाम फिदिमदेखि,नांगीन, याङनाम,सिदिन र प्राङवुङ  हुँदै भारतसँगको सिमावर्ती फालौट र चारराते क्षेत्रलाई जोड्ने यो सडक जिल्लाका महत्वपूर्ण मध्ये एक हो ।

फेमेखोलामा सबैभन्दा पहिले २०८१ असोज १२ गते आएको बाढीले पक्की पुल बगाइदिएको थियो । त्यसपछि यो खोलाको यातायात डाइभर्सनका भरमा छ । गत वर्ष पटक पटक डाइभर्सन बग्दा सवारी सडक अवरुद्व भएको थियो ।

यहाँ प्रदेश सरकारले बेलिब्रिज निर्माण गरिरहेको छ । यद्यपि, काम पुरा भने भएको छैन ।

क्षतिग्रस्त डाइर्सन मर्मत गरेर सडक खुलाउन पूर्वाधार बिकास कार्यालय पाँचथरले बिहानैदेखि प्रयास गरिरहेको छ ।

मध्यान्हसम्म काम सक्ने गरी उपकरण र जनशक्ति परिचालन गरिएको कार्यस्थलमै रहेका इन्जिनियर मुकेशराज साहले जानकारी दिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully