धनकुटा क्याम्पसको बास्केटबल कोर्ट झाडीमा परिणत, चार वर्षयता अभ्यास न प्रतियोगिता

क्याम्पसको प्रशासनिक भवनको ठीक तलतिर रहेको करिब एक रोपनी क्षेत्रफलमा फैलिएको उक्त कोर्ट अहिले लथालिङ अवस्थामा छ।

फाल्गुन २९, २०८२

विनोद घिमिरे

Dhankuta Campus' basketball court turned into bushes, no practice or competition for four years

What you should know

धनकुटा — पूर्वकै प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक मानिने धनकुटा बहुमुखी क्याम्पसमा रहेको एकमात्र बास्केटबल कोर्ट चार वर्षदेखि प्रयोगविहीन बनेको छ।

कोर्ट पूर्णरूपमा बिग्रिएपछि क्याम्पसमा बास्केटबल अभ्यास र प्रतियोगितात्मक खेलकुद गतिविधि प्रभावित भएका छन्।

क्याम्पसको प्रशासनिक भवनको ठीक तलतिर रहेको करिब एक रोपनी क्षेत्रफलमा फैलिएको उक्त कोर्ट अहिले लथालिङ अवस्थामा छ। संरचना भत्किएको, जमिन चिरा परेको र भाँसिएको छ । रिङ तथा अन्य संरचना जीर्ण बनेका कारण खेल सञ्चालन गर्न सकिने अवस्था नरहेको क्याम्पसले जनाएको छ।

कोर्ट बिग्रिएपछि स्नातक तहमा स्वास्थ्य तथा शारीरिक शिक्षा विषय लिएर अध्ययन गर्ने विद्यार्थी अभ्यास र प्रयोगात्मक कक्षा गर्नबाट बञ्चित भएका छन्। चार वर्षदेखि उनीहरूले नियमित अभ्यास, प्रशिक्षण र आन्तरिक प्रतियोगितामा सहभागी हुन नपाएको गुनासो गरेका छन्। 

क्याम्पस प्रमुख होमबहादुर बस्नेतका अनुसार कोर्ट बिग्रिएका कारण प्रतियोगितात्मक खेल र अभ्यास दुवै प्रभावित भएका छन्। 'अहिले रहेको कोर्ट कामै नलाग्ने गरी बिग्रिएको छ। अर्को स्थानमा नयाँ कोर्ट बनाउने योजना अघि सारेका छौँ, तर उपयुक्त जग्गा उपलब्ध नभएकाले काम अघि बढ्न सकेको छैन,' उनले भने।

कोर्ट सञ्चालनमा नआउँदा विद्यार्थीको शारीरिक तन्दुरुस्ती विकास, खेलकुद सीप अभिवृद्धि, अन्तरक्याम्पस प्रतियोगितामा सहभागिता तथा प्रतिभा पहिचानजस्ता गतिविधि प्रभावित भएका छन्।

खेलकुद अभ्यास नहुँदा स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको व्यावहारिक पक्ष समेत कमजोर कमजोर बनेको धनकुटा बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियनका सभापति युवा तिम्सिनाले बताए । उनले  बास्केटबल खेलका अभ्यास र प्रतियोगिताका लागि कोर्टको वैकल्पिक व्यवस्थापनका लागि क्याम्पस प्रशासनले तत्कालै काम सुरु गर्नुपर्ने जनाए। 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully