वार्षिकोत्सवको अवसरमा अक्षय कोषदाता, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी तथा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र, ट्रफी र नगदसहित सम्मान गरिएको छ ।
धनकुटा — धनकुटा सिरान बजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरी ९३औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा अक्षय कोषदाता, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी तथा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र, ट्रफी र नगदसहित सम्मान गरिएको छ ।
कार्यक्रममा कमला जोशी स्मृति अक्षय कोषका संरक्षक डा. अम्बिका मोहन जोशीलाई विशेष अभिनन्दन गरिएको थियो । तनहुँमा जन्म भई हाल काठमाडौंमा बुस्दै आएका जोशीले विद्यालयमा २० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिएका हुन् । कोषबाट प्राप्त हुने ब्याजबाट गोकुण्डेश्वर माविबाट एसइई उत्तीर्ण भई सोही विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने चार जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई बर्सेनि छात्रवृत्ति प्रदान गरिने प्रधानाध्यापक यज्ञप्रकाश चापागाईंले जानकारी दिए । हालसम्म विद्यालयको अक्षय कोषमा २७ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ ।
यसै अवसरमा शिक्षक–अभिभावक संघका अध्यक्ष भोजराज खत्रीलाई विद्यालयको शैक्षिक गुणस्तर सुधार र व्यवस्थापकीय पक्षमा पुर्याएको योगदानका लागि सम्मान गरिएको थियो ।
कार्यक्रमअन्तर्गत आयोजित त्रिदिवसीय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको छ । फुटबल, भलिबल, एथलेटिक्सलगायतका विभिन्न खेल विधामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक चापागाईंले बताए ।
त्यस्तै, धनकुटा नगरपालिकास्तरीय संस्थागत तथा सामुदायिक विद्यालयबीच आयोजित लोकनृत्य प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । प्रतियोगितामा तमोर भ्याली माध्यमिक विद्यालय प्रथम, आयोजक गोकुण्डेश्वर माध्यमिक विद्यालय द्वितीय र तुलसी मेहर मावि तृतीय भएका थिए । विजेता विद्यालयहरूलाई क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो ।
यसैबीच धनकुटामा सञ्चालित लक्ष्मी सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गोकुण्डेश्वर माध्यमिक विद्यालयमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने ३० जना गरिब तथा विपन्न विद्यार्थीलाई स्टेशनरी सामग्री र झोला प्रदान गरेको छ । विद्यालयको आन्तरिक परीक्षामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार पनि प्रदान गरिएको प्रधानाध्यापक चापागाईंले बताए ।
कार्यक्रममा प्रधानाध्यापक चापागाईंले विद्यालयको वार्षिक लेखा परीक्षण, सामाजिक परीक्षण, विद्यालयमा भएका गतिविधि तथा भावी योजना प्रस्तुत गरेका थिए ।
