अन्तर्घातको आरोपमा साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राई एमालेबाट निष्कासित

एमाले जिल्ला कमिटीको बुधबार बसेको विस्तारित बैठकले राईलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो।

फाल्गुन २८, २०८२

विनोद घिमिरे

Sangurigadhi Rural Municipality Vice-Chair Muna Rai expelled from UML on charges of conspiracy

धनकुटा —  एमाले धनकुटाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोप लगाउँदै साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासन गरेको छ।

एमाले जिल्ला कमिटीको बुधबार बसेको विस्तारित बैठकले राईलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो।

राई २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट साँगुरीगढी गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्। उनी नेकपा एमाले धनकुटा जिल्ला कमिटीकी सदस्यसमेत थिइन्।

एमाले धनकुटाका प्रचार विभाग प्रमुख रवीन कट्टेलका अनुसार भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीलाई असहयोग गरेको ठहर गर्दै राईमाथि कारबाही गरिएको हो।

पार्टीलाई घात पुर्‍याएको आरोपमा अन्य नेता तथा कार्यकर्तामाथि पनि छानबिन सुरु गरिएको एमालेले जनाएको छ। जिल्ला कमिटीले यसका लागि विशेष समिति गठन गरेको छ।

समितिले पेस गर्ने अध्ययन प्रतिवेदनका आधारमा पार्टीविरुद्ध गतिविधि गर्ने अन्य नेता–कार्यकर्तामाथि समेत आवश्यक कारबाही गरिने प्रचार विभाग प्रमुख कट्टेलले जानकारी दिए।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully