थलथले बजारमा छड्के अनुगमन : म्याद गुज्रिएका खाद्य पदार्थ जफत गरी नष्ट

अनुगमनका क्रममा पसलहरूबाट स्प्राइट, ड्यु, कोक, फ्यान्टालगायतका म्याद गुज्रिएका पेय पदार्थ तथा बेकरीजन्य खाद्य सामग्री फेला परेको थियो ।

फाल्गुन २८, २०८२

विनोद घिमिरे

Market surveillance in Thalathle: Expired food items seized and destroyed

धनकुटा — धनकुटाको सहिदभूमि गाउँपालिका–६ स्थित थलथले बजारमा छड्के अनुगमन गरिएको छ । 

बिहीबार थलथले बजार क्षेत्रका करिब एक दर्जन किराना तथा खुद्रा पसलमा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, आन्तरिक राजस्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद सकिएका विभिन्न खाद्यान्न र पेय पदार्थ फेला परेपछि जफत गरी नष्ट गरिएको टोलीले जनाएको छ ।

अनुगमनका क्रममा पसलहरूबाट स्प्राइट, ड्यु, कोक, फ्यान्टालगायतका म्याद गुज्रिएका पेय पदार्थ तथा बेकरीजन्य खाद्य सामग्री फेला परेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षण अधिकृत सुशील कोइरालाका अनुसार केही पसलमा उत्पादन मिति र उपभोग्य मिति नै स्पष्ट नराखिएका खाद्य पदार्थसमेत भेटिएका थिए ।

त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका सूचना अधिकारी विकास कार्कीले केही पसलमा मूल्यसूची नटाँसिएको र अनिवार्य रूपमा राख्न निर्देशन दिइएको बताए । टोलीले अखाद्य वस्तु बिक्री वितरण नगर्न सचेत गराउँदै आगामी दिनमा यस्तो कार्य दोहोरिए कानुनी कारबाही गरिने चेतावनी दिएको छ । 

उपभोक्ता ठगिन नदिन बजार अनुगमनलाई अझ तीव्र बनाइने सूचना अधिकारी कार्कीले बताए ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully