रास्वपा ताप्लेजुङ सभापतिको जमानत जफत, निर्वाचन परिचालन संयोजकको राजीनामा

'परिणामका हिसाबले देशले जिते पनि ताप्लेजुङले हार्ने अवस्था आयो,' उनले भनेका छन् ।

फाल्गुन २६, २०८२

आनन्द गौतम

RSVP Taplejung president's bail forfeited, election campaign coordinator resigns

ताप्लेजुङ — राष्ट्रिय स्वतन्त्र पार्टीका ताप्लेजुङ जिल्ला सभापति समेत रहेका प्रतिनिधिसभा उम्मेदवार वीरेन्द्र श्रेष्ठको जमानत जफत भएपछि निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टी जिल्ला उपसभापति दावा शेर्पाले पदबाट राजीनामा दिएका छन् ।

पार्टीको समीक्षा बैठकपछि उनले आफू पार्टीको साधारण सदस्य मात्रै भएर बस्ने गरी राजीनामा गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 'परिणामका हिसाबले देशले जिते पनि ताप्लेजुङले हार्ने अवस्था आयो । अझ दुःखद कुरा, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको जमानतसमेत जफत हुने परिणाम आयो। निर्वाचनलाई आन्तरिक रूपमा अझ व्यवस्थित र प्रभावकारी बनाउन नसकेको नैतिक जिम्मेवारी लिँदै, सम्पूर्ण ताप्लेजुङबासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुक साथीहरूसँग हार्दिक क्षमायाचना गर्दछु,' उनले भनेका छन्, 'आजैको मितिबाट म राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङको जिल्ला उपसभापति पद तथा निर्वाचन परिचालन समिति संयोजक पदबाट राजीनामा दिँदै, अबदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यको रूपमा मात्र रहने निर्णय गरेको जानकारी गराउँदछु ।'

रास्वपाका उम्मेदवार वीरेन्द्र श्रेष्ठले ४ हजार १ सय ५५ मत प्राप्त गरेका थिए । समानुपातिकमा भने ताप्लेजुङमा रास्वपालाई ६ हजार ४ सय ९५ मत प्राप्त भएको छ ।

ताप्लेजुङबाट एमालेका क्षितिज थेवे निर्वाचित भएका छन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully