पूर्वाञ्चल विश्वविद्यालयमा एमबीबीएस कक्षा सुरु

मंगलबारदेखि औपचारिक रूपमा एमबीबीएसको पठनपाठन सुरु भएसँगै पूर्वाञ्चल क्षेत्रमा चिकित्सा शिक्षाको नयाँ अध्याय सुरु भएको विश्वविद्यालयले जनाएको छ ।

फाल्गुन २६, २०८२

अर्जुन सुवेदी

MBBS classes begin at Purbanchal University

सुनसरी — चिकित्सा शिक्षाको स्नातक तह सुरु गर्ने पूर्वाञ्चल विश्वविद्यालयको झण्डै २ दशकदेखिको प्रयास अन्ततः सफल भएको छ । लामो समयको प्रतीक्षा, पूर्वाधार निर्माण र सरकारी प्रक्रियाका विभिन्न चरण पार गर्दै विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनमा ल्याएको हो ।

मंगलबारदेखि औपचारिक रूपमा एमबीबीएसको पठनपाठन सुरु भएसँगै पूर्वाञ्चल क्षेत्रमा चिकित्सा शिक्षाको नयाँ अध्याय सुरु भएको विश्वविद्यालयले जनाएको छ । सरकारले एमबीबीएस कार्यक्रममा भर्नाका लागि ५० वटा सिट उपलब्ध गराएपछि विश्वविद्यालयले पहिलोपटक चिकित्सा शिक्षाको स्नातक तहको पढाइ सुरु गरेको हो ।

स्थापना भएको ३ दशकपछि विश्वविद्यालयमा चिकित्सा शिक्षाको औपचारिक रूपमा पठनपाठन सुरु महत्वपूर्ण उपलब्धि मानेको विश्वविद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलियाले बताए । 

पूर्वाञ्चल विश्वविद्यालयले चिकित्सा शिक्षा सञ्चालनका लागि २०६२ सालदेखि प्रक्रिया अघि बढाएको थियो । त्यसबेला एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा सञ्चालन गरी ५ सय २० जना विद्यार्थी समेत छनोट गरेको थियो । तर, मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा ३ सय बेडको आफ्नै शिक्षण अस्पताल अनिवार्य हुनुपर्ने सरकारी व्यवस्था लागू भएपछि योजना तत्काल अघि बढ्न सकेको थिएन् । 

त्यसपछि विश्वविद्यालयले आवश्यक पूर्वाधार निर्माण र अस्पताल व्यवस्थापनका लागि विभिन्न विकल्प खोज्दै प्रक्रिया अगाडि बढाएको थियो । ३ वर्षअघि विश्वविद्यालयले ३ सय ३० बेडको कोशी अस्पतालसँग शिक्षण अस्पतालका रूपमा सहकार्य गर्ने सम्झौता गरेको थियो । साथै, विश्वविद्यालयले १ सय शैयाको आफ्नै  अस्पताल पनि सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयको भौतिक पूर्वाधार, अस्पताल, प्रयोगशाला, जनशक्ति र शैक्षिक तयारीको निरीक्षण गरी त्यससम्बन्धी प्रतिवेदन २ वर्षअघि नै शिक्षा मन्त्रालयमा बुझाएको थियो । तर, मेडिकल कलेज सञ्चालनका लागि अन्तिम अनुमति दिने सरकारी प्रक्रियामा ढिलाइ हुँदा कक्षा सञ्चालन हुन सकेको थिएन । गत साउन दोस्रो साता आयोगको टोलीले पुनः अन्तिम अनुगमन गरेपछि भने एमबीबीएस कार्यक्रममा ५० विद्यार्थी भर्ना गर्ने अनुमति दिएको हो ।

चिकित्शा शास्त्र संकायका डिन डा. शैलेसमणि पोखरेलले २ दशकको प्रयासपछि एमबीबीएस कक्षा सञ्चालनमा आएको र यसले चिकित्सा शिक्षाको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । ‘पूर्वाञ्चल क्षेत्रमा गुणस्तरीय चिकित्सा शिक्षा विस्तार गर्ने र दक्ष चिकित्सक उत्पादन गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।

अर्जुन

Link copied successfully