जिल्लामा प्रत्यक्षतर्फ विजयी भएको एमालेले समानुपातिक मतमा पनि अग्रता कायम गरेको हो।
काठमाडौँ — धनकुटाको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न हुँदा नेकपा (एमाले) पहिलो भएको छ। जिल्लामा प्रत्यक्षतर्फ विजयी भएको एमालेले समानुपातिक मतमा पनि अग्रता कायम गरेको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेले १६ हजार ५ सय ६७ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। प्रत्यक्षतर्फ पनि एमालेका राजेन्द्रकुमार राई १८ हजार १ सय ३२ मतसहित विजयी भएका थिए।
समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी १४ हजार ६ सय ७९ मतसहित दोस्रो, श्रम संस्कृति पार्टी १३ हजार ९ सय ६० मतसहित तेस्रो र नेपाली कांग्रेस ८ हजार ६ सय ५१ मतसहित चौथो स्थानमा रहेका छन्। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी १ हजार ६ सय ३४ मतसहित पाँचौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी १ हजार २ सय ५ मतसहित छैटौँ र जनता समाजवादी पार्टी नेपाल १ हजार ३६ मतसहित सातौँ स्थानमा रहेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इब्नामले जानकारी दिए।
उनका अनुसार अन्य ११ दलले सयभन्दा बढी तर हजारभन्दा कम मत प्राप्त गरेका छन् भने ३९ राजनीतिक दलले सय मतसमेत कटाउन सकेनन्। सयभन्दा माथि मत ल्याउने दलमध्ये राष्ट्रिय परिवर्तन पार्टीले ५ सय २४, नेपाल संघीय समाजवादी पार्टीले ४ सय ८७, राष्ट्रिय जनमुक्ति पार्टीले २ सय ८३, राष्ट्रिय गौरव पार्टीले २ सय ४४ र नागरिक उन्मुक्ति पार्टी नेपालले २ सय ४ मत प्राप्त गरेका छन्।
यस्तै सार्वभौम नागरिक पार्टीले १ सय ५५, मंगोल नेशनल अर्गनाइजेशनले १ सय ४३, नेपाल जनता संरक्षण पार्टीले १ सय ३६, नेपाल लोकतान्त्रिक पार्टीले १ सय २९, प्रगतिशील लोकतान्त्रिक पार्टीले १ सय २८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सय ११ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
