धनकुटामा खटिएका ९ सय ८९ जना निर्वाचन सुरक्षा प्रहरीलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, घरेलु तथा साना उद्योग कार्यालय धनकुटासँगको समन्वयमा विभिन्न सीपमूलक तालिममा सहभागी गराउने योजना अघि सारिएको हो ।
What you should know
धनकुटा — प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि खटिएका म्यादी प्रहरीलाई धनकुटामा आय आर्जन र उद्यम विकाससँग जोड्ने उद्देश्यले सीपमूलक तालिम दिने तयारी गरिएको छ।
धनकुटामा खटिएका ९ सय ८९ जना निर्वाचन सुरक्षा प्रहरीलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), घरेलु तथा साना उद्योग कार्यालय धनकुटासँगको समन्वयमा विभिन्न सीपमूलक तालिममा सहभागी गराउने योजना अघि सारिएको हो ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले म्यादी प्रहरीलाई खाली हात घर फर्काउनुभन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सीप सिकाएर पठाउने उद्देश्यले यस्तो पहल गरिएको बताए। उनका अनुसार उत्तरपानीस्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल गरी होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर तथा मुडा बनाउने लगायतका तालिम सञ्चालन गर्ने प्रस्ताव गरिएको हो ।
तालिममार्फत सहभागीहरूलाई घरेलु उद्यमका सम्भावना, उद्योग स्थापना प्रक्रिया, लगानी व्यवस्थापन तथा व्यवसाय सञ्चालनका मोडेलबारे पनि जानकारी दिइनेछ। बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी तालिम प्राप्त म्यादी प्रहरीलाई सहुलियतपूर्ण घरेलु उद्यम कर्जासँग जोड्ने तयारी समेत गरिएको प्रजिअ खड्काले जानकारी दिए।
उनका अनुसार इच्छुक म्यादी प्रहरीलाई उनीहरूको छनोटका आधारमा तालिम प्रदान गरिनेछ। 'सानो कामबाट पनि छिटो आम्दानी गर्न सकिने अवसरबारे जानकारी गराउँदै उनीहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्य छ,' खड्काले भने, 'यदि पाँच सय जनाले मात्रै तालिम लिए भने पनि करिब २ हजार ५ सय परिवारका लागि सानोतिनो आम्दानीको बाटो खुल्न सक्छ।'
उत्तरपानीस्थित प्राविधिक शिक्षालय र घरेलु कार्यालयसँग समन्वय गरी होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर तथा मुडा बनाउने, सिलाइ–कटाइजस्ता तालिम सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए।
यसका साथै मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ, सैलुन सेवा जस्ता प्राविधिक काममा पनि तालिम दिने विषयमा छलफल भइरहेको प्रशासनले जनाएको छ। कम पढाइ–लेखाइ भएका व्यक्तिले समेत छोटो तालिमपछि घरमै वा गाउँमै सुरु गर्न सक्ने रोजगारीका क्षेत्रलाई प्राथमिकता दिइएको प्रजिअ खड्काको भनाइ छ।
तालिममार्फत कृषि तथा पशुपालनतर्फ पनि निर्वाचन सुरक्षा प्रहरीलाई आकर्षित गर्ने योजना बनाइएको छ। कुखुरा पालन, बाख्रा पालन, च्याउ खेती, तरकारी खेती, मौरी पालन जस्ता कामबाट सानो लगानीमा घरमै आम्दानी गर्न सकिने सम्भावनाबारे जानकारी दिइने उनले बताए।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले पनि म्यादी प्रहरीलाई दीर्घकालीन रूपमा उपयोगी हुने सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम अघि सारिएको बताए। 'पढ्न चाहनेले पढ्छन्, विदेश जान चाहने विदेश जान्छन्, तर गाउँमै बसेर सानो उद्योग वा व्यवसाय गर्न चाहनेलाई सीप सिकाउन सकियो भने त्यसले उनीहरूको भविष्यमा सहयोग पुग्छ,' उनले भने।
प्रशासनका अनुसार तालिममार्फत घरेलु उद्योगका विभिन्न प्रकार, स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको प्रयोग, साना उद्यम सञ्चालनका सम्भावना तथा रोजगारी सिर्जनाका विविध पक्षबारे जानकारी दिइनेछ। यसबाट म्यादी प्रहरीलाई उद्यम र आय आर्जनका गतिविधिमा जोड्ने तथा स्थानीय स्तरमै साना उद्यमी उत्पादन गर्ने लक्ष्य राखिएको छ। निर्वाचन सुरक्षा प्रहरीलाई फागुन २८ गते बिदा दिइँदैछ। त्यसअघि नै घरेलु उद्योग र आय आर्जनसम्बन्धी अभिमुखीकरण सञ्चालन गरिने जनाइएको छ ।
