गौरादहका मेयर सुवेदीमाथि घरमै दुर्व्यवहार, छिमेकी पक्राउ 

३४ वर्षीय भीष्म सिटौला पक्राउ

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

Gauradaha Mayor Subedi abused at home, neighbor arrested

विराटनगर — झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि घरभित्रै दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारअन्तर्गत मुद्दा दायर गरेको छ । 

आइतबार साँझ करिब साढे ६ बजे घरमै बसिरहेका मेयर सुवेदीमाथि गौरादह–५ राजपति चोक चप्रामारीका ३४ वर्षीय भीष्म सिटौलाले दुर्व्यवहार गरेका थिए । उनलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको थियो । 

मेयर सुवेदीका अनुसार सिटौलालाई व्यक्तिगत रूपमा उनी चिन्दैनन् । उनीसँग कुनै लेनदेन र पुरानो रिसइवी पनि थिएन । तर, किन दुर्व्यवहार भयो सुवेदीले बुझ्न नसकेको जनाए । उनी भर्खरै जापानबाट फर्किएका युवा हुन् । उनी केही समयदेखि सुवेदीको घर परिसरमै थिए । ‘लामो समयदेखि घरबाहिर कुर्सीमा बसिरहेको देखेपछि के काम छ भोलि आउनु नत्र प्रहरी बोलाउँछु भनेको थिएँ’, सुवेदीले भने,‘उनी त झम्टिएर आइलागे ।’ 

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका ती युवालाई प्रहरीले घटनालगत्तै पक्राउ गरी हिरासतमा राखेको छ । मेयर सुवेदीले सोमबार जाहेरी दिएपछि उनलाई अभद्र व्यवहारमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले जनाए । 

कान्तिपुर

Link copied successfully