उनले देशमा सुशासन स्थापना र भ्रष्टाचारको अन्त्य होस् भन्ने चाहना रहेको बताए ।
उदयपुर — उदयपुरमा १०२ वर्षिय वृद्धले मतदान गरेका छन् । उदयपुरगढी गाउँपालिका–६ जगरेटारका १०२ वर्षीय अमृतबहादुर कार्कीले नेपालटार माध्यमिक विद्यालय मतदान केन्द्र (क) बाट आज बिहान मतदान गरेका हुन् ।
देशमा सुशासन स्थापना होस्, भ्रष्टाचारको अन्त्य होस् र देशको विकास होस् भन्ने चाहनाका साथ मतदान गरेको कार्कीले बताए । मतदान अधिकृत भुपध्वज रायमाझीका अनुसार छोराका साथमा आएर उनले मतदान गरेका थिए ।
कार्कीले यो विशेष अवस्थाको निर्वाचनले देशलाई विकास र निकास दिन सकोस् भन्ने चाहना राखेका छन् । सहजरुपले मतदान गर्न पाएको उनले बताए ।
उनीजस्तै अन्य ज्येष्ठ नागरिक, अशक्त, गर्भवती महिला, अपांगता भएका व्यक्तिहरुलाई पालो कुर्नु नपर्ने गरी छुट्टै लाइनको व्यवस्था मिलाइएको मतदान अधिकृत रायमाझीले बताए । पुरुष र महिलाको छुट्टाछुट्टै लाइन बनाइएको र मतदातालाई प्रवेशद्वार र बाहिर जाने बाटो छुट्टाछुटै बनाइएको छ । तीनवटा केन्द्र रहेको उक्तस्थानमा ३ हजार ४ जना मतदाता रहेका छन् ।
मुख्य निर्वाचन अधिकृत मुकेशकुमार उपाध्यायका अनुसार उदयपुरमा तोकिएकै समय सबै मतदान केन्द्रबाट भइरहेको छ । कुल २ लाख ३८ हजार ९३८ मतदाता रहेको उदयपुरमा १०३ मतदानस्थलमा २७५ वटा मतदान केन्द्र छन् । मतदान केन्द्रहरुमा विहानैदेखि लाईन बसेर मतदाताहरुले धमाधम मतदान गरिरहेका छन् ।
त्रियुगा, चौदण्डी र बेलका नगरपालिका गरी तीन स्थानीय तह समेटिएको उदयपुर निर्वाचन क्षेत्र १ मा १ लाख ४२ हजार ८०४ मतदाता रहेका छन् । ५२ स्थानमा १६० मत केन्द्र छन् । उदयपुर १ मा ३५ वटा वडाहरु छन् ।
एक कटारी नगरपालिका र रौतामाई, उदयपुरगढी, लिम्चुङबुङ र ताप्ली चार गाउँपालिका गरी जम्मा पाँच स्थानीयतह समेटिएको क्षेत्र नं. २ मा ९६ हजार १३१ मतदाताका लागि ५१ स्थानमा ११५ मतदान केन्द्र छन् । उदयपुर २ मा ४० वटा वडा छन् ।
