प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडकाले पेट्रोल र डिजेल अनावश्यक रूपमा भण्डारण नगर्न तथा बोतल, ग्यालेनमा बिक्री नगर्न सबै पेट्रोल पम्पलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।
धनकुटा — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले पेट्रोलियम पदार्थ अनावश्यक रूपमा मौज्दात नगर्न उपभोक्तासँग आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडकाले पेट्रोल र डिजेल अनावश्यक रूपमा भण्डारण नगर्न तथा बोतल, ग्यालेनमा बिक्री नगर्न सबै पेट्रोल पम्पलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।
उनका अनुसार हाल खाडीमा विकसित घटनाक्रमका कारण इन्धन अभाव हुन सक्ने आशंकामा केही उपभोक्ताले पेट्रोलियम पदार्थ संकलन गर्न थालेको गुनासो आएको थियो । त्यसपछि बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन प्रशासनले सक्रियता बढाएको हो ।
‘जिल्लामा इन्धन आपूर्ति नियमित छ । आत्तिएर मौज्दात गर्नुपर्ने अवस्था छैन,’ प्रमुख जिल्ला अधिकारी खडकाले भने, ‘अनावश्यक भण्डारणले बजारमा समस्या सिर्जना गर्न सक्छ, त्यसैले सबैले संयमता अपनाउनुपर्छ ।’
जिल्ला प्रशासन कार्यालयले पेट्रोल पम्प सञ्चालकहरूसँग छलफल गरी नियमित आपूर्ति र पारदर्शी वितरण सुनिश्चित गर्न निर्देशन दिएको जनाएको छ । कुनै पनि पम्पले तोकिएको मापदण्ड विपरीत इन्धन बिक्री वा भण्डारण गरेको पाइएमा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
प्रशासनले निर्वाचन अवधिमा अत्यावश्यक सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले इन्धन आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जनाएको छ । उपभोक्तालाई अनावश्यक हल्ला र अफवाहमा नलागी आवश्यकताअनुसार मात्र इन्धन उपभोग गर्न प्रशासनले आग्रह गरेको छ ।
