ताप्लेजुङमा निर्वाचनका लागि १९ एम्बुलेन्स तयारी अवस्थामा

हरेक पालिकामा रहने गरी व्यवस्थापन मिलाइएको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले जनाएको छ ।

फाल्गुन १९, २०८२

आनन्द गौतम

ताप्लेजुङ — बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा १९ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार हरेक पालिकामा रहने गरी व्यवस्थापन मिलाइएको छ ।

सदरमुकाम फुङलिङमा ८ वटा एम्बुलेन्स रहनेछ । मेरिङदेन, पाथीभरा याङवरक, आठराईत्रिवेणी र सिरिजङ्गा गाउँपालिकामा एक/एक वटा राखिनेछ । मौवाखोला, मिक्वाखोला फक्ताङलुङ र सिदिङ्वा गाउँपालिकामा दुई/दुई वटा रहनेछन् । सम्बन्धित पालिकामा रहेका एम्बुलेन्सलाई त्यहीअनुसारको व्यवस्थापन गरिएको समितिले जनाएको छ ।

फुङलिङ नगरपालिकामा राखिने एम्बुलेन्सले नगरपालिका भित्रका ११ वटा वडा र आवश्यकताअनुसार जिल्लाका अन्य पालिकामा परिचालन गर्ने तयारी रहेको व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा ९ स्थानीय तह र ६१ वटा वडा रहेका छन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully