सडक र उम्मेदवार पर्खिरहेछ किमाथांका

'उता(तिब्बतमा) उज्यालो छ, सुविधा छ। हामी सोलारको मधुरो उज्यालोमा बस्छौँ,' पासाङ भन्छन्, 'हामीलाई पनि त्यही विकास चाहिएको हो।'

फाल्गुन १७, २०८२

दीपेन्द्र शाक्य

Kimathanka awaits the road and the candidate

What you should know

संखुवासभा —  संखुवासभाको उत्तरी सिमाना, किमाथांका, जहाँबाट दिउँसो सहर देखिन्छ र रात पर्नासाथ झिलिमिली बत्ती टल्किन्छ । पारिको डाँडा र खोला बगरमा देखिएको तिब्बतको देन्दाङ र चाँगा बजार हो । तर किमाथांका भने सोलारको धिपधिपे उज्यालोमा विकास पर्खिरहेको छ । 

यहीँका बासिन्दा पासाङ भोटे यतिबेला चुनावी एजेन्डा सुन्न उम्मेदवारको प्रतीक्षामा छन्। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उनी भन्छन्, 'अब त थोरै दिन बाँकी छ, उम्मेदवार मुख देखाउन आउलान् जस्तो लाग्न छाड्यो ।'

भोटखोला गाउँपालिका-१ किमाथांकामा कुल जनसंख्या ४ सय ४५ छ भने ३ सय ८ जना मतदाता छन् । सडक सञ्जाल नपुगेको यो बस्तीमा उम्मेदवारहरू सडकको पहुँच भएको स्थानसम्म त पुगे, तर दुर्गम किमाथांकासम्म आइपुगेका छैनन् । विभिन्न दलका स्थानीय नेताहरू भने भोट माग्दै आएका छन्, तर मतदाताहरू भने प्रत्यक्ष उम्मेदवारको एजेन्डा सुन्न चाहन्छन् ।

'हामी चौंरीबाट सामान ढुवानी गर्छौँ,' उनले भने' 'उता ठूल्ठूला गाडी घरघरमै आइपुग्छन्, गाउँमा न यातायात सुविधा छ, न त व्यवसाय गर्ने बजार । सीमाक्षेत्रमा पर्ने भएकाले द्विदेशीय आवागमन खुला हुनुपर्ने उनीहरूको माग छ । पारिपट्टि बजार सुविधा सम्पन्न छ, बिजुली बत्तीले उज्यालो छ; यता भने अँध्यारो र विकासबिनाको कथा उस्तै छ ।'

स्थानीयहरूका अनुसार गाउँमा धार्मिक र समाजको दलीयकरण, विद्युत् परियोजना प्रवर्द्धकले सिर्जना गरेको सामाजिक द्वन्द्व अझै समाधान भएको छैन। समुदायभित्रको विभाजनले विकासका कामहरू प्रभावित भएका छन्। 'हामी सामाजिक अन्त्य चाहन्छौँ, मिलेर अघि बढ्न चाहन्छौँ,' उनी भन्छन्, 'तर हाम्रो समस्या र गुनासा सुन्ने कोही छैन।'

चुनाव नजिकिँदै जाँदा किमाथांकाका मतदाता विकास र पहुँचको मुद्दा लिएर बसेका छन्। उनीहरूका प्राथमिकता स्पष्ट छन्, सडक, नियमित विद्युत्, बजारको व्यवस्था, सीमामा सहज आवागमन, र स्थानीय द्वन्द्वको समाधान। तर ती मुद्दा बोकेर उम्मेदवार स्वयं गाउँसम्म नआउँदा निराशा बढेको छ।

घरको आँगनबाट देखिने तिब्बती सहरको झिलिमिली उज्यालो उनीहरूका लागि आशा हो र पीडा पनि ।  'उता उज्यालो छ, सुविधा छ। हामी सोलारको मधुरो उज्यालोमा बस्छौँ,' पासाङ भन्छन्, 'हामीलाई पनि त्यही विकास चाहिएको हो।'

अघिपछि हेलिकोप्टर चढेर आउने नेताहरू चुनावका बेला देखिँदैनन् । 'सडक ल्याउँछौँ, बिजुली बत्ती बाल्छौँ भनेर चुनावमा भाषण गर्छन्,' उनले भने, 'तर हामी कहिलेसम्म यसरी अन्धकारमा बस्ने। हामी पनि गुडेर सदरमुकाम खाँदबारीसम्म जान चहान्छौँ ।'

किमाथांका जस्तो दुर्गम बस्तीमा चुनाव मत हाल्ने प्रक्रिया होइन, पहुँच र पहिचानको प्रश्न पनि हो। सडक नपुगेको ठाउँमा लोकतन्त्रको आवाज पनि कमजोर हुने हो कि भन्ने चिन्ता स्थानीयमा देखिन्छ। उम्मेदवारहरू गाउँसम्म पुगेर एजेन्डा सार्वजनिक गर्लान् कि नगर्लान् भन्ने अन्योलबीच मतदाता भने अन्तिम घडीसम्म प्रतीक्षामा छन्।

फागुन २१ को निर्वाचनले किमाथांकाको अँध्यारो हटाउने कि उस्तै छोड्ने, यो प्रश्न अहिले यहाँका ३ सय ८ मतदाताको मनमा घुमिरहेको छ। झिलिमिली सहरलाई टुलुटुलु हेर्दै बसेका किमाथांकावासीहरू भन्छन्, 'यसपालि भोट त हाल्छौँ, तर हाम्रो गाउँसम्म विकास कहिले आइपुग्छ?' स्थानीय कामी भोटेका अनुसार किमाथांकाबासीको किनमेल गर्नजाने नजिकैको बजार भनेकै तिब्बतको देन्दाङ र चाँगा बजार हो। त्यहाँसम्म पुग्न किमाथांकाबासीलाई ४५ मिनेट हिँडे पुग्छ। सदरमुकाम खाँदबारीबाट किमाथांकासम्म नुनतेल पुऱ्याउन कम्तीमा ४ दिन लाग्छ। 

संखुवासभा भूगोल, संस्कृति र प्राकृतिक सम्पदामा धनी मानिए पनि जनअपेक्षाअनुसार विकासले गति लिन सकेको छैन। विश्वकै होचो ४ सय ५७ मिटरको अरुण उपत्यकादेखि विश्वकै पाँचौँ अग्लो ८ हजार ४ सय ६३ मिटर उचाइको मकालु हिमाल यही जिल्लामा पर्दछ। तर पछिल्लो पाँच वर्षमा करिब ४० अर्ब रुपैयाँ विकास खर्च हुँदासमेत आर्थिक, सामाजिक र संरचनागत परिवर्तनले उल्लेख्य फड्को मार्न सकेको छैन।

१ लाख ५९ हजार २ सय ६ जनसंख्या रहेको जिल्लामा पाँच नगरपालिका, पाँच गाउँपालिका र ७६ वडा छन्। प्रतिनिधि सभा क्षेत्र–१ र प्रदेशसभा दुइवटा रहेको यस जिल्लामा १ लाख १९ हजार ६३० मतदाता छन्। 

दीपेन्द्र शाक्य

Link copied successfully