किराँत याक्थुम चुम्लुङले माग्यो उम्मेदवारसँग प्रतिबद्धता

जिल्ला अध्यक्ष हेमकुमार लिम्बूले ‘सेभ मुकुम्लुङ’, ‘नो कोशी’ र ‘नो केवल कार’ अभियानलाई मुख्य एजेण्डाका रूपमा अघि सारिएको जानकारी दिए।

फाल्गुन १६, २०८२

विनोद घिमिरे

Kirat Yakthum Chumlung demands commitment from candidate

धनकुटा — आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै किराँत याक्थुङ चुम्लुङ, जिल्ला शाखा धनकुटाले प्रतिबद्धता नभए ‘नो भोट’ अभियान चलाउने चेतावनी दिएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा संगठनले आफ्ना मुख्य मुद्दामा स्पष्ट धारणा नआए उम्मेदवारलाई समर्थन नगर्ने स्पष्ट पारेको हो।

जिल्ला अध्यक्ष हेमकुमार लिम्बूले ‘सेभ मुकुम्लुङ’, ‘नो कोशी’ र ‘नो केवल कार’ अभियानलाई मुख्य एजेण्डाका रूपमा अघि सारिएको जानकारी दिए। उनले ऐतिहासिक, सांस्कृतिक तथा पहिचानसँग जोडिएका विषयमा राजनीतिक दल र उम्मेदवारले स्पष्ट लिखित प्रतिबद्धता जनाउनुपर्ने बताए।

'नेताहरू भोट माग्न आउँदा हामी यही विषय उठाउँछौं,' अध्यक्ष लिम्बूले भने, 'हाम्रो १५ बुँदे मागमा सहमति र कार्यान्वयनको प्रतिबद्धता नगर्ने उम्मेदवारलाई समर्थन हुँदैन।'

संगठनले सार्वजनिक गरेको १५ बुँदे मागपत्रमा मुकुम्लुङ क्षेत्रको संरक्षण, कोशी प्रदेश नामकरणप्रति असहमति, केवलकार निर्माणको विरोध, याक्थुङ/लिम्बु समुदायको पहिचान, भाषा, संस्कृति र ऐतिहासिक भूगोलको संरक्षण तथा अधिकार सुनिश्चित गर्नुपर्ने विषय समेटिएका छन्।

चुम्लुङले पहिचान र आत्मनिर्णयको सवाललाई निर्वाचन बहसको केन्द्रमा ल्याउन खोजिएको जनाएको छ। संगठनका पदाधिकारीहरूले समुदायका मुद्दा बेवास्ता गरिए आन्दोलनका कार्यक्रमसमेत घोषणा गर्न सकिने संकेत दिएका छन् । 

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully