प्रदेश सरकारसँग प्रत्यक्ष समन्वय र जनताका गुनासा सुन्ने उद्देश्यले स्थापना गरिएको कार्यालय अहिले बेकामे बनेको छ ।
What you should know
धनकुटा — यहाँ स्थापना गरिएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय सुनसान बनेको छ । तत्कालीन मुख्यमन्त्री शेरधन राईले खोलेको कार्यालय सुनसान बनेको हो । यहाँ बस्ने कोही नभएपछि वातानुकुलित कार्यकक्ष, क्याबिनेट हल, टेबल–कुर्सी खेर गएका छन् । कार्यालयका ढोका अधिकांश समय बन्द हुन्छन् ।
राजनीतिक पदाधिकारी र कर्मचारीे उपस्थित नहुँदा सेवाग्राहीको चहलपहल शून्य हुन्छ । २०७६ वैशाखमा तत्कालीन मुख्यमन्त्री राईले कार्यालय उद्घाटन गरेका थिए । पुरानो क्षेत्रीय विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णयको विरोधपछि यहाँका बासिन्दाको असन्तुष्टि कम गर्न पुरानो प्रशासन भवनमा कार्यालय खोलिएको थियो । त्यसबेला स्थानीयले धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै आन्दोलन गरेका थिए । प्रदेश सरकारसँग प्रत्यक्ष समन्वय र जनताका गुनासा सुन्ने उद्देश्यले स्थापना गरिएको कार्यालय अहिले बेकामे बनेको छ ।
एक जना कार्यालय सहयोगीको भरमा चलिरहेको छ । अन्य कर्मचारीको उपस्थिति छैन । कोशी प्रदेश स्थापना पछि नियुक्त भएका मुख्यमन्त्रीमध्ये राई मात्र यहाँ आएका थिए । त्यसपछि मुख्यमन्त्री बनेका राजेन्द्र राई एक पटक कार्यक्रममा सहभागी हुन कार्यालय आएका थिए । अर्का मुख्यमन्त्री केदार कार्की मन्त्रिपरिषद्को बैठक राखेका थिए । तत्कालीन मुख्यमन्त्री उद्धव थापा, भीम आचार्य र वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यालयमा टेकेका छैनन् ।
कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलले सम्पर्क कार्यालय रहेकोबारे सुनेको भए पनि धेरै जानकारी नभएको बताए । ‘भवन संरक्षणका लागि मुख्यमन्त्रीको सम्पर्क कार्यालय भनेर राखिएको भन्ने सुनेको छु,’ उनले भने, ‘साथीहरूले क्वाटर हटाइयो पनि भन्थे । बाटो परेछ भने म छिरौंला ।’ उनले सम्पर्क कार्यालयमा रहेको कर्मचारी दरबन्दीबारे पनि जानकारी दिन चाहेनन् ।
कार्यालयकी सहयोगीले अहिले आफू एक्लै रहेको र अन्य कर्मचारीबारे जानकारी नभएको बताइन् । मुख्यमन्त्री कार्यालयकी गुनासो सुन्ने अधिकारी रुपा सुनुवारको नाममा रहेको सरकारी नम्बरमा सम्पर्क गर्दा फोन उठेन । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइटेलले भने कार्यालय सञ्चालन गर्ने विषयमा मुख्यमन्त्रीको चासो रहेको बताए ।
