पक्राउ परेका ७ जनामध्ये ६ जना भारतीय नागरिक रहेका छन्।
What you should know
झापा — जिल्ला प्रहरी कार्यालय झापाले सरकारी छाप, दस्तखत र नक्कली कागजात प्रयोग गरी संगठित ठगी गर्ने गिरोहका ७ जनालाई पक्राउ गरेको छ । जसमा ६ जना भारतीय नागरिक रहेका छन् ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगालका अरिन्दम धर, दीपा भौमिक, सुमन सरकार, नुर कलाम शेख, अबेद अली होसैन, फारुक अज्मी तथा झापा कमल गाउँपालिका–६ का देवेन्द्र सापकोटा रहेका छन् । उनीहरूलाई फागुन १२ गते बेलुका करिब ६ बजे भद्रपुर–चन्द्रगढी एयरपोर्ट घोडामारा सडक खण्डबाट नियन्त्रणमा लिइएको हो ।
भारतीय नम्बर प्लेटका दुई सवारी साधन डब्लु बी ०६ यु ३००६ नम्बरको सुजुकी बलेनो र डब्लु बी ०६ एक्स ०३०० नम्बरको टोयोटा फर्च्युनर चन्द्रगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि प्रहरी कार्यालयमा बुझाएको थियो ।
अनुसन्धानका क्रममा अभियुक्तहरूको साथबाट नेपाल सरकारको निसान छाप प्रयोग गरिएका नक्कली दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, भन्सारसम्बन्धी कागजात, तारिख पर्चा, नक्कली प्रहरी परिचयपत्र, विभिन्न भारतीय परिचयपत्र तथा मोबाइलहरू बरामद भएका छन् ।
त्यस्तै, मेचीनगर नगरपालिका–४ आमडाँगीस्थित लुकाइ राखिएको स्थानबाट २१ वटा टिनका बाक्सा र २ सय ३७ बन्डल नोट आकारका सादा कागज बरामद गरिएको प्रहरीले जनाएको छ । ती बन्डलहरूमा माथि–तल सक्कली नोट राखी बीचमा सादा कागज राखेर ठूलो रकम देखिने गरी तयार गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले जनाए ।
प्रहरीका अनुसार गिरोहले व्यापारमा लगानी गरेको रकम कानुनी अड्चनका कारण नेपालका निकायले जफत गरेको र उक्त रकम भारत लैजान जरिवाना तिर्नुपर्ने बहानामा चिनेजानेका तथा व्यापारिक पृष्ठभूमिका व्यक्तिलाई भिडियो सन्देश पठाई ठगी गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
करिब डेढ महिनाअघि मेचीनगरस्थित एक होटलमा बसेर उक्त बाकस र नोट आकारका बन्डलको फोटो तथा भिडियोसमेत बनाइएको प्रहरीको भनाइ छ।
पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत लिखतसम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
