धनकुटामा निर्वाचन आचारसंहिता उल्लंघनका मौखिक उजुरी धेरै

निर्वाचन आचारसंहिता अनुगमन संयोजक लक्ष्मीप्रसाद रेग्मीले धनकुटामा हालसम्म १० वटा मौखिक र २ वटा लिखित उजुरी आएको बताए।

फाल्गुन १२, २०८२

विनोद घिमिरे

Many verbal complaints of election code of conduct violations in Dhankuta

What you should know

धनकुटा — प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा धनकुटामा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी बढ्न थालेका छन् ।

निर्वाचन आचारसंहिता अनुगमन संयोजक लक्ष्मीप्रसाद रेग्मीले धनकुटामा हालसम्म १० वटा मौखिक र २ वटा लिखित उजुरी आएको जनाए । 

कार्यालयमा परेका उजुरीमध्ये अधिकांश मौखिक छन् ।  लिखित उजुरी परेका विषयमा औपचारिक रूपमा स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन संयोजक लक्ष्मीप्रसाद रेग्मीले लिखित उजुरीका आधारमा सम्बन्धित उम्मेदवार तथा दललाई लिखित स्पष्टीकरण माग गरिएको जानकारी दिए ।

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार दिनेश राई आठपहरियाविरुद्ध मतदातालाई प्रभावित पार्ने उद्देश्यले टोपी वितरण गरेको आरोपमा उजुरी परेको छ। उक्त उजुरी नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिले दिएका हुन् ।

यसैगरी, नेकपा एमाले धनकुटाले आफ्ना उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमार्फत गलत फोन नम्बर उल्लेख गर्दै भिडियो तथा अडियो सामग्री सार्वजनिक गरी व्यक्तिगत गालीगलौज, मानहानी तथा बदनियतपूर्ण टिप्पणी गरिएको भन्दै उजुरी दिएको थियो।

सोही उजुरीका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवार लाक्पा तामाङलाई लिखित स्पष्टीकरण सोधेको जनाएको छ ।

यस्ता उजुरीका सम्बन्धमा प्रारम्भिक छानबिन गरी आवश्यक निर्देशन तथा सचेत गराउने काम भइरहेको आचारसंहिता अनुगमन संयोजक रेग्मीले बताए । उनका अनुसार लिखित उजुरी परेका विषयमा औपचारिक प्रक्रिया अपनाइने र मौखिक उजुरीका हकमा प्रारम्भिक तहमा छलफल तथा सचेत गराउने अभ्यास गरिएको छ।

निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसारका गतिविधि तीव्र बन्दै गएको अवस्थामा आचारसंहिताको पालना गराउन प्रशासनले निगरानी बढाएको जनाएको छ। कार्यालयले सबै दल तथा उम्मेदवारलाई आचारसंहिता पूर्णरूपमा पालना गर्न आग्रह समेत गरेको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully