यसअघिका कयौं निर्वाचनमा घरदैलोमा पुग्ने उम्मेदवार सामु गरिएका माग अझै पूरा हुन नसकेको गुनासो छ ।
What you should know
धनकुटा — धनकुटा बजार छेवैको आठपहरिया वस्तीलाई विकासका पूर्वाधारले खासै छोएको छैन । मुलुकभरमै यहाँ मात्र बसोबास गर्ने अल्पसङ्ख्यक आठपहरिया जातिको मुख्य थातथलो पुग्न सजिलो बाटो छैन । खानेपानी, सिँचाइको समस्या उस्तै छ ।
उक्त जाति बसोबास गर्ने मुख्य स्थानमामध्ये धनकुटा नगरपालिका ८ सान्ताङ, याक्ते, टेकुनाला, खाम्बेला लगायतका गाउँमा आधुनिक युगको कुनै छनक पाइँदैन । बजारको मुख्य चोकबाट बढीमा तीन/चार किलोमीटर नजिक भएर पनि अत्यावश्यक विकासका पूर्वाधारबाट टाढिएको छ ।
ती वस्तीमा पुरानै शैलीका घर प्रशस्तै छन् । आफ्नै मौलिक पहिरनमा स्थानीय सजिएका हुन्छन् । पालिकाले गरेका पछिल्लो विकासका प्रयास अझै अपुग्दो रहेको स्थानीयको गुनासो छ । त्यसैले पनि ठूला योजनाबाट गाउँ वस्तीको मुहार फेर्नुपर्ने उनीहरु सुझाउँछन् । यसअघिका कयौं निर्वाचनमा घरदैलोमा पुग्ने उम्मेदवार सामु गरिएका माग अझै पूरा हुन नसकेको गुनासो छ ।
सान्ताङ गाउँकी ६५ वर्षीया रसकुमारी राईलाई चुनाव आएको पत्तो छैन । तर, विगतका निर्वाचनमा उम्मेदवारले गाउँमा बाटो पुर्याइदिने भनेको उनलाई याद ताजै छ । यसपटकको निर्वाचनमा जसले गाउँमा खानेपानी, पक्की बाटो र गाडी नियमित चल्ने व्यवस्था गर्छ, उसैलाई भोट दिने बताउँछिन् । ‘पहिलेदेखि नै बाटो, खानेपानीको कुरा गर्थे’, उनले भनिन्, ‘अझै काम भएन, अब नढाँटी काम गर्नेलाई छाप हान्छु ।’ वडाले भने सकेको काम गरेको भन्दै सन्तुष्टि मिलेको उनको भनाइ छ । तर, गाउँमा बृहत योजनाको बाटो र खानेपानीको माग उनको छ ।
धनकुटा नगरपालिका ८ खाम्बेलाका शान्तिबहादुर आठपहयालाई को–को उम्मेदवार बनेका छन् थाहा छैन । निर्वाचन नजिकिँदै गए पनि उनको घरमा कुनै उम्मेदवार पुगेका छैनन् । ‘चुनाव आएको हामीलाई थाहापत्तो छैन’, उनले भने, ‘घरआँगनमा भोट माग्न आए पो थाहा हुन्थ्यो ।’ उनले खानेपानीको समस्या रहेको बताए ।
कुवाबाट पनि खानेपानीको गर्जो टार्दै आएको सुनाए । स्कुल पुग्न सजिलो बाटो नभएको उनको भनाइ छ । केटाकेटीलाई स्कुल जान र आफूहरुलाई बजार पुग्न बाटो सजिलो हुनुपर्ने बताउँछन् । केही वर्ष पहिले कच्ची सडक घर नजिकै पुगे पनि भत्किएर सहज नभएको छैन ।
अधिकांश स्थानीयले याक्चानास्थित तमोर नदीमा मोटर चल्ने स्तरको पुलको माग गरेका छन् । धनकुटा बजार भएर याक्चानासम्म कच्ची सडक खनिएको भए पनि स्तरउन्नत नहुँदा समस्या भएको सुनाए । याक्चानामा मोटरेवल पुल भएमा तमोर कोरिडोर जोडिने भएकोले आफ्नो गाउँवस्ती गुल्जार हुने स्थानीय धनबहादुर आठपहरियाको भनाइ छ । याक्चानामा गाडी चल्ने पुल र त्यहाँसम्म पुग्न पक्की सडक भएमा राहत पुग्ने आठपहरियाले बताए । मुलघाट हुँदै ताप्लेजुङ, पाँचथर जोडिएको तमोर कोरिडोरले आठपहरिया वस्तीलाई राहत पुग्ने उनको तर्क छ ।
धनकुटाको मुख्य स्थान मदनचोकदेखि घुमाउने चौतारा याक्ते, सान्ताङ हुँदै त्रिवेणी चोकसम्मको बृहत रिङ रोडको परिकल्पना गरेर दुई दशक अघि नै थालिका योजना अझै पूरा भएको छैन । शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानीका योजना अधुरै छन् । तसर्थ पनि स्थानीयको मन कुँडिएको छ । गाउँमा फुसको छानो हटाउन नगरपालिकाले जस्ता वितरण गरेको छ । अधिकांशले फुसको छानोमाथि नै जस्ता पाता छाएका छन् । गाउँमा होमस्टे चलाउने प्रयास गरिए पनि सहज बाटोको अभावले पाहुनाहरु पुग्न सक्दैनन् ।
आवश्यक मागहरु काम चलाउभन्दा दीर्घकालीन ठूला योजनाले मात्र गाउँको मुहार फेर्न सकिने स्थानीय रेनुका आठपहरिया बताउँछिन् । उनी भन्छिन्, ‘स–साना योजनाले हाम्रो जीवनस्तर माथि उठ्न सक्दैन, उम्मेदवारले ठूला योजना ल्याउन सकुन् ।’
