स्थानीय हेमचन्द्र आचार्यको घरमा आगो लाग्दा घरभित्र रहेका लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
धनकुटा — भोजपुरको अरुण गाउँपालिका-६ को फेरी बजारमा आइतबार दिउँसो आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।
स्थानीय हेमचन्द्र आचार्यको घरमा आगो लाग्दा घरभित्र रहेका लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि भोजपुरको जरायोटार तथा धनकुटाको लेगुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।
आगो अन्य घरतर्फ फैलिन नदिन विशेष सावधानी अपनाइएको लेगुवा प्रहरी चौकीका असइ द्रोण खत्रीले जानकारी दिए।
आगलागी भएको स्थान धनकुटा र भोजपुरको सीमा अरुण नदी छेउमा पर्छ । आगलागीको कारण खुलेको छैन । घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको खत्रीले जनाए ।
