धनकुटाबाट ३ जना बेवारिस व्यक्तिको उद्धार, परिवारको खोजी हुँदै

मानसिक रूपमा कमजोर देखिएका तीनै जनाको पारिवारिक पृष्ठभूमि खुल्न सकेको छैन ।

फाल्गुन ९, २०८२

विनोद घिमिरे

3 homeless people rescued from Dhankuta, search underway for family

धनकुटा — मानवसेवा आश्रमद्वारा सञ्चालित ‘कोशी प्रदेश उद्धारयात्रा’ मार्फत बिहीबार धनकुटाका विभिन्न स्थानबाट तीनजना बेवारिस व्यक्तिको उद्धार गरिएको छ ।

उद्धार हुनेमा धनकुटास्थित मदनचोक क्षेत्रबाट लामो समयदेखि अलपत्र अवस्थामा जीवन बिताउँदै आएका करिब ३५ वर्षीय अमृत भनिने पुरुष रहेका छन् । त्यसैगरी, ‘साहिल’ नाम बताउने ३६ वर्षीय अर्का पुरुष तथा धनकुटा नगरपालिका–६ स्थित सडकपेटीमा बस्दै आएका ५२ वर्षीय भीमप्रसाद अधिकारीलाई पनि उद्धार गरी आश्रम पठाइएको पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले बताए ।

मानसिक रूपमा कमजोर देखिएका तीनै जनाको पारिवारिक पृष्ठभूमि खुल्न सकेको छैन । उनीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका व्यवस्था गरी सुरक्षित संरक्षणमा राखिएको र पारिवारिक पुनर्मिलनका लागि आवश्यक पहल गरिने आश्रमले जनाएको छ ।

आश्रमले फागुन ३ देखि सुरु गरेको ‘कोशी प्रदेश उद्धार यात्रा’ फागुन १६ सम्म सञ्चालन हुने कार्यक्रम रहेको छ । 

यात्राअन्तर्गत कोशी प्रदेशका विभिन्न जिल्लामा पुगेर खुला सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलनको कार्य निरन्तर रूपमा अघि बढाइएको आश्रमले जनाएको छ ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully