पछिल्ला दिनमा अपरिचित नम्बरबाट फोन गरी आफू बैंकको प्रतिनिधि भएको दाबी गर्दै खातासम्बन्धी विवरण, ओटीपी, पिन नम्बर तथा मोबाइल बैंकिङको जानकारी माग्ने घटना बढ्दै गएका छन्।
धनकुटा — विभिन्न बैंकहरूको नाम दुरुपयोग गर्दै केवाइसी अपडेटको बहानामा सर्वसाधारणबाट गोप्य विवरण माग्ने गिरोह धनकुटामा सक्रिय भएको पाइएको छ।
पछिल्ला दिनमा अपरिचित नम्बरबाट फोन गरी आफू बैंकको प्रतिनिधि भएको दाबी गर्दै खातासम्बन्धी विवरण, ओटीपी, पिन नम्बर तथा मोबाइल बैंकिङको जानकारी माग्ने घटना बढ्दै गएका हुन्।
महालक्ष्मी नगरपालिकामा कार्यरत गीता लुइँटेलका अनुसार मंगलबार अपरिचित नम्बरबाट फोन गरी 'तपाईंको केवाइसी अपडेट अधुरो छ, खाता बन्द हुन लाग्यो, डकुमेन्टमा समस्या देखियो' जस्ता बहाना बनाउँदै गोप्य जानकारी मागिएको थियो। उनले ओटीपी र गोप्य कोड माग्नुका साथै वाट्सएप तथा अन्य सामाजिक सञ्जालमार्फत भिडियो कल गरी अनुहार देखाउन र बैंकको एप खोल्नसमेत दबाब दिएको बताइन्।
यस्तै, सेउलेका तिलक कार्कीले पनि वाणिज्य बैंकको नाम लिएर केवाइसी अपडेटका लागि पटक–पटक फोन आइरहेको जानकारी दिए। तर आफूले कुनै जानकारी नदिएको बताए।
धनकुटा संचालित बैंकका शाखाहरुले भने फोनमार्फत ओटीपी, पासवर्ड, पिन नम्बर जस्ता संवेदनशील विवरण कहिल्यै नमाग्ने स्पष्ट पारेका छन्।
बैंकका अधिकारीहरूले यस्ता विवरण मागिनु ठगीको स्पष्ट संकेत भएको जनाउँदै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।
धनकुटाका प्रहरी प्रमुख एसपी शरतथापा क्षेत्रीले अपरिचित नम्बरबाट आउने यस्ता फोनप्रति सजग रहन, कुनै पनि गोप्य जानकारी नदिन र शंका लागेमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित बैंकमा तत्काल जानकारी गराउन आग्रह गरेका छन् ।
