हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार निर्माणमा संलग्न कम्पनीले कामदारलाई पैसा नदिएकाले छाडेर हिडेका हुन् ।
खोटाङ — हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित निर्माणाधीन नगर अस्पताल अलपत्र परेको छ । निर्माणमा संलग्न कम्पनीले खटाएको कामदारले काम छाडेर गएपछि भवन निर्माण अलपत्र परेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार निर्माणमा संलग्न कम्पनीले कामदारलाई पैसा नदिएकाले छाडेर हिडेका हुन् । कामदारले गत मंसिरसम्म काम गरेको तर पैसा नपाएपछि छाडेर हिडेको गिरीले बताए ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ३ सय ९६ वटा नगर अस्पताल भवन एकसाथ सिलान्यास गर्ने क्रममा उक्त भवन पनि परेको गिरीले सुनाए । उक्त भवनको निर्माण ठेक्का नमूना हिमालयन जेवी विराटनगरले लिएको हो । संघ सरकारको ११ करोड ९९ लाख १९ हजार ६ सय २९ रूपैयाँ (भ्याटबाहेक) बजेटमा २०८० साउन ७ गतेसम्म सक्नेगरी २०७८ साउन ७ गते उक्त निर्माण कम्पनीले सम्झौता गरेको थियो ।
सम्झौता अवधिमा भवन नबनेपछि पटकपटक निर्माणअवधि थपिँदै आएको छ । पछिल्लोपटक २०८२ असार २९ गते बसेको कार्यपालिकाको बैठकले तेस्रोपटक २०८३ साउन ७ गतेसम्मका लागि म्याद थप गरेको छ । उक्त भवनको बेसको पिलर मात्र उठाएको छ । अहिलेसम्म करिब ३४ प्रतिशत बराबरको ४ करोड भुक्तानी भएको हलेसी तुवाचुङ नगरपालिकाका लेखा अधिकृत नवराज कटवालले बताए । उक्त रकम सुरुको रनिङ बिलको भुक्तानी गरिएको हो । त्यसपछि कामै अलपत्र परेपछि भुक्तानी गरिएको छैन ।
भवन अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने जग्गादाताहरूले बताएका छन् । अस्पताल बन्छ र उपचार सुविधा पाइन्छ भनेर जग्गा दिएको तर अहिलेसम्म नबकेकोप्रति दुःख लागेको जग्गादाता प्रकाशचन्द्र गिरीले बताए । काम अलपत्र पारेकोप्रति नगरपालिका, वडा र सम्वन्धित निर्माण कम्पनीलाई गुनासो राख्दा बेवास्ता गरे गिरीले दुःखेसो पोखे । यसमा संलग्नलाई कारबाही गर्नुपर्ने गिरीको माग छ । ‘अस्पताल बन्छ भनेर हामीले निःशुल्क जग्गा दिएको हो तर अहिलेसम्म अस्पताल बनेन,’ गिरीले भने, ‘नगरपालिका, वडा र सम्बन्धित ठेकेदारलाई समेत गुनासो गर्दा बेवास्ता भयो,’ गिरीले भने, ‘यसमा संलग्नलाई कारबाही हुनुपर्छ ।’
काम अलपत्र पार्ने निर्माण कम्पनीलाई ताकेता गर्दा अटेर गरेको र अब थप कारबाही प्रक्रिया बढाउने प्रवक्ता गिरीले बताए । सुरुमा डीपीआरअनुसार फिल्डमा जग्गा नभएकाले डीपीआर परिवर्तन गर्नु परेको र डीपीआर बनिसकेपछि पनि काम नगर्दा समस्या आइपरेको गिरीले सुनाए । साथै भवन निर्माणको थालनीमै पिलरहरू बाङ्गिएको र त्यसलाई भत्काएर अर्को पिलर बनाउन लगाएको गिरीको भनाइ छ ।
भवनको तल्लोपट्टिको ६ वटा पिलर बाङ्गिएपछि भत्काएर बनाउन लगाएको हो । भवन निर्माण थालेपछि पार्किङ, गेट, शवगृह, क्यान्टिन, फार्मेसीलगायत संरचना नमिलेपछि डीपीआर परिवर्तन गर्नु परेको गिरीको भनाइ छ । निर्माणमा संलग्न सुशील रेग्मीले भने अब केही दिनमै काम सुरु गर्ने बताए ।
