लामो समयसम्म दाबी गर्न कोही नआएका तथा कानुनी रूपमा स्वामित्व नखुलेका सवारी साधनहरू सम्बन्धित ऐन-नियम बमोजिम मूल्यांकन गरी लिलाम गरेको धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए ।
धनकुटा — प्रहरीले चालु आर्थिक वर्षमा चोरी, बेवारिसे तथा स्वामित्व नखुलेका ३६ सवारीसाधन लिलाम बिक्री गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार ३५ वटा मोटरसाइकल र १ वटा स्कुटर गरी जम्मा ३६ वटा सवारी साधन कानुनी प्रक्रिया पूरा गरी सार्वजनिक लिलाममार्फत बिक्री गरिएको हो ।
ती सवारी साधन लिलाम बिक्रीबाट १ लाख ८० हजार ६ सय रुपैयाँ राजश्व संकलन गरिएको धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
लामो समयसम्म दाबी गर्न कोही नआएका तथा कानुनी रूपमा स्वामित्व नखुलेका सवारी साधनहरू सम्बन्धित ऐन-नियम बमोजिम मूल्यांकन गरी लिलाम गरेको उनले बताए । प्रहरीका अनुसार सार्वजनिक सूचना प्रकाशन, मूल्यांकन तथा आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र लिलाम प्रक्रिया अघि बढाउन पाइन्छ । सबै कानुनी प्रक्रिया टुंग्याएर व्यवस्थापन गरिएको उनको भनाइ छ ।
उनले भने, 'चोरी, बेवारिसे तथा स्वामित्व नखुलेका सवारी साधन लामो समयसम्म राख्दा संरक्षण र व्यवस्थापनमा समस्या आउँछ । त्यसैले सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी लिलाममार्फत व्यवस्थापन गरिएको हो ।' एसपी थापा क्षेत्रीका अनुसार लिलामबाट प्राप्त रकम सरकारी राजश्व खातामा जम्मा गरिएको छ।
