माघ २९ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भएको प्रतियोगितामा यू–१२ मा ८ तथा यू–१४ मा ७ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ।
What you should know
धनकुटा — बाल श्रमविरुद्ध सचेतना फैलाउने उद्देश्यले न्यू नव प्रभात क्लब, धनकुटा ५ को आयोजनामा सम्पन्न विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधि यू–१२ तर्फ बालसंसार इङ्लिस बोर्डिङ स्कुल र यू–१४ तर्फ धनकुटा इङ्लिस बोर्डिङ स्कुलले जितेका छन्।
माघ २९ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भएको प्रतियोगितामा यू–१२ मा ८ तथा यू–१४ मा ७ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिता दुई उमेर समूह यू–१२ र यू–१४ मा सञ्चालन गरिएको थियो।
यू–१२ तर्फको फाइनल खेलमा बालसंसार इङलिस बोर्डिङ स्कुलले तमोर भ्याली इङलिस बोर्डिङ स्कुललाई ट्राइब्रेकरमा ७–६ गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो। विजेता टोलीले नगद १० हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता तमोर भ्यालीले नगद ७ हजार ५ सय रुपैयाँमा चित्त बुझायो।
त्यस्तै, यू–१४ तर्फ धनकुटा इङ्लिस बोर्डिङ स्कुलले बालसंसार इङ्लिस बोर्डिङ स्कुललाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै उपाधि जित्यो।
विजेता धनकुटा इङ्लिस बोर्डिङ स्कुलले नगद २० हजार रुपैयाँ हात पार्यो भने उपविजेता बालसंसारले नगद १० हजार रुपैयाँ प्राप्त गर्यो।
प्रतियोगितामा बेस्ट कोच, बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा दुवै विधामा उदयमान खेलाडी लगायत विभिन्न विधामा समेत पुरस्कार वितरण गरिएको थियो।
क्लबका अध्यक्ष गोविन्द राईका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, टिम भावना र नेतृत्व क्षमताको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ। उनले बालबालिकालाई श्रमबाट मुक्त गराई खेलकुद र शिक्षातर्फ प्रेरित गर्ने सन्देश फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
