निर्वाचन जित्न सामाजिक सञ्जाल फलोअर्स भन्दा मत ल्याउन जरुरी: मन्त्री पराजुली

सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक तथा प्रायोजित सामग्रीका कारण निर्वाचनप्रति अनावश्यक शंका नगर्न आग्रह

फाल्गुन २, २०८२

रमेशचन्द्र अधिकारी

What you should know

धनकुटा — कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आसन्न आम निर्वाचन भयरहित ढंगले सम्पन्न हुनेमा विश्वस्त रहेको बताएका छन्।

उनले सामाजिक सञ्जालमा धेरै फलोअर्स हुनु र जनताबाट अनुमोदित हुनु फरक विषय भएको उल्लेख गर्दै नयाँ दलहरूमा निर्वाचन अभ्यासको कमी रहेको दाबी गरे ।

गृहजिल्ला धनकुटा पुगेका मन्त्री पराजुलीले शनिबार बिहान प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा प्रदेश सरकारले प्रदेश सचिवको संयोजकत्वमा सुरक्षा कमान्ड गठन गरेको बताउँदै कसैले पनि निर्वाचन हुँदैन कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन्।

भयमुक्त निर्वाचन गराउन सबै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको र प्रदेश सरकार निर्वाचन सफल बनाउन केन्द्रित भएर काम गरिरहेको बताए । उनले प्रदेशमा कमाण्ड पोष्ट, सबै जिल्लामा सुरक्षा सेल बनाएको जानकारी दिए । ‘मुलुक आम निर्वाचनतर्फ केन्द्रित भइसकेको छ,’ उनले भने ‘स्वच्छ रूपमा सम्पन्न गराउन सरकार, सुरक्षा निकाय, सञ्चारमाध्यम तथा नागरिक समाज सबै एकताबद्ध हुनुपर्छ ।’

उनले सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक तथा प्रायोजित सामग्रीका कारण निर्वाचनप्रति अनावश्यक शंका उत्पन्न गर्न आवश्यक नरहेको बताए । निर्वाचन सफल बनाउन केन्द्र र प्रदेश सरकारले आवश्यक नियमन तथा अनुगमनको काम अघि बढाइएको उनको भनाइ छ ।

राजनीतिक दल खोल्ने भन्दा जनताको विश्वास जित्ने कुरा प्रमुख रहेको भन्दै उनले बंगलादेशको निर्वाचन परिणामले पाठ सिकाएको बताए । सामाजिक सञ्जालमा चलाइने हुलमुल र प्रायोजित प्रचार दीगो नहुने उनको तर्क छ ।

विदेशबाट समेत सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गतिविधि भइरहेको उल्लेख गर्दै यसलाई नियमन गर्ने प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिए । निर्वाचन सफल गराउन प्रदेश सरकारले सुरक्षा कमान्ड खडा गरेको बताउँदै निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका उल्लेखनीय रहेको उनले बताए। 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully