वित्त आयोगको मूल्यांकनमा फिदिम पहिलो

७६.७५ प्रतिशत अंक प्राप्त गरेको उक्त नगरपालिकाले देशभरका ७ सय ५३ स्थानीय तहमा १३ औं र कोशी प्रदेशमा तृतीय स्थान हासिल गर्न सफल भएको हो ।

फाल्गुन २, २०८२

लक्ष्मी गौतम

पाँचथर — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा फिदिम नगरपालिका जिल्लामै पहिलो स्थान हासिल गरेको छ ।

७६.७५ प्रतिशत अंक प्राप्त गरेको उक्त नगरपालिकाले देशभरका ७ सय ५३ स्थानीय तहमा १३ औं र कोशी प्रदेशमा तृतीय स्थान हासिल गर्न सफल भएको हो ।

नगरपालिका घोषणा भएपछि नगरपालिकाले यसपटक पहिलो पटक वित्त आयोगको कार्य सम्पादनमा उत्कृष्ठ स्थान हासिल गरेको हो ।

आयोगले स्थानीय तहको कार्यसम्पादनका आधारमा अंक निर्धारण गर्दै अनुदान वितरणको सिफारिस गर्ने गर्दछ । सामान्यतया वित्तीय अनुशासन, राजस्व संकलन, खर्च व्यवस्थापन, योजना कार्यान्वयन, लेखा परीक्षणको अवस्था र पारदर्शिताजस्ता सूचक मूल्यांकनका आधार मानिन्छन् ।

नगरप्रमुख मित्रप्रसाद काफ्लेले यो सफलता नगर क्षेत्रका विभिन्न सरोकारवालाको सामूहिक प्रयासका कारण सम्भव भएको बताए । आयोगको मूल्यांकनले आगामी अनुदान वितरणमा प्रभाव पार्ने भएकाले यस्तो नतिजालाई स्थानीय शासनको वित्तीय अवस्थासँग जोडेर हेर्ने गरिएको छ ।  

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully