नगरपालिकाले मौरी प्रवर्द्धन अन्तर्गत प्रतिघार १० हजार ८ सय रुपैयाँमा कृषकलाई माैरीसहितका घार उपलब्ध गराइएको हो ।
What you should know
संखुवासभा — कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन प्रवर्द्धन गर्ने उद्देश्यले खाँदबारी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीसहितका घार वितरण गरेको छ।
बिहीबार नगरपालिकाले ९० वटा मौरीसहितका घार कृषक समूह तथा कृषकलाई हस्तान्तरण गरेको हो।
कार्यक्रममा नगरप्रमुख महेश थपलियाले कृषकलाई घार हस्तान्तरण गरे । मौरीपालनलाई वैकल्पिक मात्र नभई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्न नगरपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको उनले बताए। कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित आगामी वर्षमा पनि यस्तै विशेष कार्यक्रमहरू ल्याइने उनले बताए ।
नगरपालिकाले मौरी प्रवर्द्धन अन्तर्गत प्रतिघार १० हजार ८ सय रुपैयाँ लागतमा कृषकलाई माैरीसहितका घार उपलब्ध गराइएको हो । कृषकले ५० प्रतिशत मात्र व्यहोर्नु परेको छ। बाँकी रकम नगरपालिकाले अनुदानस्वरूप उपलब्ध गराएको हो। यो कार्यक्रमबाट विशेषगरी साना तथा मझौला कृषक प्रत्यक्ष लाभान्वित भएका छन्।
मौरीसहितको घार प्राप्त गरेपछि कृषकहरू उत्साहित देखिएका छन्। मौरीपालनले कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। मौरीले परागसेचनमा सहयोग पुर्याउने भएकाले फलफूल तथा बाली उत्पादन वृद्धि हुने अपेक्षा गरिएको प्रमुख थपलियाको भनाई छ ।
अनुदानमा घार पाएपछि मौरीपालन सुरु गर्न हौसला मिलेको खाँदबारी नगरपालिका ४ का कृषक फुर्वासाङ्गे शेर्पाले बताए। उनले अब मह उत्पादन गरेर थप आम्दानी गर्ने योजना बनाएको बताए।
नगरपालिकाले वितरणसँगै प्राविधिक सहयोग र तालिमको व्यवस्था समेत गर्ने जनाएको छ। यसले कृषकलाई मौरी व्यवस्थापन, रोग नियन्त्रण तथा मह संकलन सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास कृषकको छ।
