हिरासँगै दिल्लीका दीपककुमार मेहता पक्राउ
विराटनगर — तस्करी गरी नेपाल हुँदै भारत पुर्याइएको करिब ४ करोड ३३ लाख भारु मूल्य बराबरको हिरा बागडोगरा विमानस्थलबाट बरामद गरिएको छ ।
केन्द्रीय राजस्व गुप्तचर विभाग (डीआरआई) ले मंगलबार दिल्ली उड्ने तयारीमा रहेका एक भारतीयलाई नियन्त्रणमा लिँदै अवैध रूपमा भित्र्याइएका ४८ थान हिरा जफत गरेको जनाएको छ । हिरासँगै दिल्लीका दीपक कुमार महासुलाल मेहता (दीपककुमार मेहता) लाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
डीआरआईका अनुसार विमानस्थलमा शंकास्पद गतिविधि देखिएपछि मेहतामाथि निगरानी राखिएको थियो । विमानस्थलमा सोधपुछ तथा लगेज जाँच गर्दा हिरा फेला परेको थियो । बरामद हिराको कुल तौल ६ सय ६१ दशमलव ६६ ग्राम रहेको विभागले जनाएको छ ।
राजश्व गुप्तचर विभागको प्रारम्भिक अनुसन्धान अनुसार उक्त हिरा नेपालबाट स्थलमार्ग हुदै सिलिगुडी पुर्याइएको थियो । नेपाल–भारत सीमाको कडा सुरक्षा निगरानीलाई छिचोल्दै मेहता सोमबार सिलिगुडी पुगेका थिए । त्यहाँ एक रात बिताएपछि उनी मंगलबार बागडोगरा विमानस्थल हुँदै दिल्ली उड्ने योजनामा रहेको डीआरआईले दाबी गरेको छ ।
‘ती हिरा नेपालबाटै भारत ल्याइएको हो या अन्य देशबाट नेपाल आएर भारत ल्याइएको भन्नेबारे अनुसन्धान जारी छ’, विभागका एक अधिकारीले भारतीय सञ्चारमाध्यमसँग भनेका छन्,‘पछिल्लो समय नेपाल हिरा तस्करीको ट्रान्जिट जस्तो बनेको देखिन्छ ।’
पक्राउ परेका मेहतालाई सिलिगुडी जिल्ला अदालतले उनलाई दुई साता न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
