जेन-जी आन्दोलनमा झुम्का कारागारबाट फरार ८ कैदीबन्दी पक्राउ

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार भदौ २४ गते कारागारबाट फरार भएका उनीहरूलाई धनकुटा, सुनसरी र आसपासका जिल्लाबाट भदौ यता विभिन्न मितिमा पक्राउ गरिएको हो । 

माघ २७, २०८२

विनोद घिमिरे

8 prisoners arrested after escaping from Jhumka prison in Gen-G movement

धनकुटा — जेन-जी आन्दोलनका समयमा झुम्का कारागारबाट फरार भएका विभिन्न मुद्दाका ८ जना कैदीबन्दीलाई धनकुटा प्रहरीले पक्राउ गरेको छ ।

धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ परेकाहरु कर्तव्य ज्यान, अंगभंग, जबर्जस्ती, चोरी तथा लागुऔषध गाँजा मुद्दामा अदालतले सजाय किटान गरेका कैदी बन्दी छन् । एसपी थापा क्षेत्रीले मंगलबार दिएको जानकारीअनुसार संखुवासभा खाँदवारी नगरपालिका-९ का ३० वर्षीय युवराज राईलाई धनकुटाको साँगुरीगढी-६ भेडेटारचोकबाट पक्राउ गरिएको छ । उनी कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद सजाय भोगिरहेका थिए । 

यस्तै चौविसे-३ का ३४ वर्षीय सिजन तामाङलाई अंगभंग मुद्दामा ३० महिना कैद र २५ हजार जरिवाना तोकिएको थियो, उनी घरबाटै पक्राउ परेका छन् । 

लागुऔषध गाँजा मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सहिदभूमि-२ का २१ वर्षीय सुरेश शिवा, धनकुटा नगरपालिका-६ का २६ वर्षीय अनिल सहनी, सहिदभूमि-७ का संगम माझी र साँगुरीगढी-१ का ३३ वर्षीय बुद्धराज लिम्बुलाई पनि फरार अवस्थाबाट पक्राउ गरी पुनः कारागार चलान गरिएको हो । 

कर्तव्य ज्यान तथा जबर्जस्ती चोरी मुद्दामा २० वर्ष कैद र १ लाख जरिवाना तोकिएका चौविसे-२ धारापानीका ४६ वर्षीय रमेश माङ्मी मगर तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका सुनसरी धरान उपमहानगरपालिका २० का ३२ वर्षीय सागर राईलाई पनि लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले फरार कैदीबन्दीलाई खोजतलास गरी नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर कारागार बुझाइएको जानकारी दिए ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully